• ६ कात्तिक २०८२, बिहिबार

भाइटीकाको तयारी गरिरहँदा भाइको डुबेर मृत्यु

blog

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक ५ गते । दिदीभाइबिचको बिशेष वर्ष भाइटीकाको अघिल्लो दिन रुकुमपश्चिमको मुसीकोट नगरपालिका –४ सोलाबाङका एक युवकको खोलामा डुबेर मृत्यु भएको छ । 

स्थानीय कपिलदेव शर्माका १९ वर्षीय छोरा केदार शर्माको बुधबार बेलुका मृत्यु भएको हो । मुसीकोट नगरपालिका ४ कै मुग्लुखोलामा पौडी खेल्ने क्रममा शर्माको डुबेर मृत्यु भएको उहाँका नातेदार सुर्यप्रकाश शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार केदार घरका एक मात्र छोरा हुन् । कक्षा १२ मा अध्ययनरत उनी तिहार मनाउन काठमाडौबाट आएका थिए । उनका तीन दिदीबहिनी छन् ।  भाइटीकाको तयारी गरिरहेका बेला दिदिबहिनीहरु भाइको निधनले विक्षिप्त भएका छन् । 

शर्माको शव जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम गरेर घरमा ल्याइएको छ । भाइटीकाकै दिन उनको अन्त्येष्टि हुने बताइएको छ ।