• ५ कात्तिक २०८२, बुधबार

अमेरिकाको फोर्ट वर्थ सिटीद्वारा दीपावली पर्वलाई मान्यता प्रदान

blog

काउन्सिल सदस्य डेबराह पिपल्स दीपावली तिहार पर्वको मान्यतासम्बन्धी सम्मानपत्र फोर्ट वर्थ सिटीका भवन मापदण्ड आयुक्त मोहन ज्ञवालीलाई हस्तान्तरण गर्दै ।

शंकर थापा/रासस

टेक्सस (अमेरिका), कात्तिक ५ गते । नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले मान्यता प्रदान गरेको छ । 

फोर्ट वर्थ सिटी काउन्सिलको मंगलबार बसेको नियमित बैठकले दिपावली पर्वलाई सिटीको विशेष सांस्कृतिक उत्सवका रूपमा मान्यता प्रदान गरेको घोषणा गरेको हो ।

सिटीले मान्यता प्रदान गरेसँगै अबदेखि हरेक वर्ष दीपावली पर्वलाई फोर्ट वर्थ सिटीको आधिकारिक सांस्कृतिक उत्सवका रूपमा मनाइने भएको सिटी काउन्सिलले जनाएको छ ।

बैठकमा सिटी प्रशासनको तर्फबाट काउन्सिल सदस्य डेबराह पिपल्सले दीपावली पर्वलाई सहरको सांस्कृतिक विविधताको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने प्रस्ताव पेश गर्नु भएको थियो ।

सो अवसरमा उहाँले नेपाली समुदायको सांस्कृतिक र सामाजिक योगदानको उच्च प्रशंसा गर्दै फोर्ट वर्थ सिटी विविधता र सहअस्तित्वको सहर भएको उल्लेख गर्नुभयो । 

उक्त प्रस्तावलाई उपस्थित काउन्सिल सदस्यहरू तथा नेपाली र अमेरिकी समुदायले ताली बजाएर स्वागत गरेका थिए । सो अवसरमा जिल्ला नं. ५ की काउन्सिल सदस्य डेबराह पिपल्सले दीपावली तिहार पर्वको मान्यता सम्बन्धी सम्मानपत्र नेपाली समुदायका अगुवा तथा फोर्ट वर्थ सिटीका भवन मापदण्ड आयुक्त मोहन ज्ञवालीलाई हस्तान्तरण गर्नुभयो । 

कार्यक्रममा बोल्दै सिटीकी मेयर म्याटी पार्करले नेपाली समुदायको उज्यालो पर्व दीपावली–तिहारलाई धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण भन्दै सहरले यस पर्वलाई आधिकारिकरूपमा स्वीकार गरेको बताउनु भयो । 

 मेयर पार्करले फोर्ट वर्थ सिटी विविधता र सांस्कृतिक समृद्धिको उत्कृष्ट उदाहरण हो, जहाँ नेपाली समुदायको विशेष योगदान भएको चर्चा गर्नुभयो । 

नेपाली समुदायको तर्फबाट बोल्दै अगुवा मोहन ज्ञवालीले सहर प्रशासनप्रति आभार व्यक्त गर्दै “फोर्ट वर्थ सिटीले नेपालीहरूको सांस्कृतिक पर्वलाई मान्यता प्रदान गर्नु सम्पूर्ण नेपाली समुदायका लागि गौरवको विषय भएको बताउनु भयो । 


कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, साथै समुदायका अगुवा तथा स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो ।

नेपाली समुदायका प्रतिनिधिहरूले फोर्ट वर्थ नगरले गरेको यस सम्मानले अमेरिकामा नेपालीहरूको सांस्कृतिक पहिचान र गौरवलाई अझ सुदृढ बनाएको प्रतिक्रिया दिएका छन् ।

यस अघि टेक्ससको ड्यालस काउन्टी कोर्टले पनि गत बर्ष दिपापली पर्बलाई काउन्टीको आधिकारिक उत्सवको रुपमा घोषणा गरेको थियो ।