• ८ मंसिर २०८१, शनिबार

बालबालिकाको स्वस्थ मुटु

blog

तथ्याङ्कले नेपालमा बालबालिकामा मुटुरोगको समस्या बढ्दो क्रममा रहेको देखाउँदै छ। यहाँका एक प्रतिशत बालबालिकामा मुटुरोग रहेको तथ्याङ्क छ। बाल मुटुरोगमा जन्मजात मुटुको समस्या र मुटुमा प्वाल हुने देखिएका छन्। समय नपुग्दै जन्मिने बच्चामा यो समस्या पाइने सम्भावना अझ बढी हुने मुटुरोग विशेषज्ञहरू बताउँछन्। कुल जन्मिएका मध्ये करिब दुई तिहाइ शिशुलाई एक महिनाभित्रै जटिल प्रकृतिका जन्मजात मुटुरोगका लक्षण देखिन्छन्। त्यसमध्ये एक तिहाइ शिशुको समयमै उपचार नभएमा जन्मेको केही दिनभित्रै मृत्यु पनि हुन सक्छ। समाजमा अझै मुटुरोग धनी, मोटा, पाका व्यक्तिहरूलाई मात्र हुन्छ भन्ने भ्रम छ। मुटुरोग बालबालिकामा पनि हुन्छ भन्ने चेतनाको अभाव अनि रोग पहिचान गर्ने र उपचारमा दक्ष जनशक्ति एवं अस्पतालको अभावका कारण मुटुरोगले बालबालिकासहित धेरैको ज्यान जाने गरेको छ। 

मुटुरोग विशेषज्ञका अनुसार बाल मुटुरोगका विभिन्न प्रकारमध्ये पाँचदेखि १५ वर्षका बालबालिकामा बाथ मुटुरोग लाग्ने गर्दछ। त्यो जन्मजात हुने र कतिपयलाई पछि हुने मुटुरोग लाग्ने गर्दछ। जन्मजात मुटुरोग देखिने कारण वंशाणुगत र वातावरणीय छन्। जन्मजात पीडित बालबालिका उपचारपछि पूर्ण रूपमा निको हुन सक्छन् तर कडा खालका रोगमा पूर्ण रूपमा निको हुने सम्भावना न्यून हुन्छ। कतिपयको एक पटकभन्दा बढी शल्यक्रिया गर्नुपर्ने समेत हुन सक्छ। हरेक पटकको उपचारमा आर्थिक भार परिवारलाई पर्छ। त्यसो त सरकारले १४ वर्षमुनिका बालबालिकाको मुटुको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको छ। अस्पतालमा हुने सेवा, शल्यक्रिया निःशुल्क भए पनि अस्पतालमा नपाइने सामग्री छुट्टै किन्नुपर्ने हुन्छ तर मुटुसम्बन्धी औषधि र उपकरणको व्यापार ठुलो नहुँदा यी सहजै पाइँदैनन्, कालोबजारको वस्तु किन्दा थप महँगो पर्छ। 

हाल मुटु प्रत्यारोपणबाहेक अन्य मुटुसम्बन्धी उपचार नेपालमै हुँदै आएको छ। काठमाडौँ महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र मुटुरोग उपचारमा प्रतिष्ठित छन्। मनमोहनमा मात्र वार्षिक २५० जना बालबालिका र अरू दुई सय जनाको शल्यक्रिया हुन्छ। शल्यक्रियाबाहेक वार्षिक पाँचदेखि सात सय बाथ मुटुरोग भएका बालबालिकाको उपचार हुने गरेको छ। गङ्गालालमा दुई सय जनाको शल्यक्रियाबाहेक वार्षिक पाँचदेखि सात सय बाथ मुटुरोग भएका बालबालिकाको उपचार हुने गरेको छ। रोगपीडित बालबालिका समयमै यी अस्पतालमा ल्याइपु-याइएका हुँदैनन्, कतिपय अन्य अस्पतालमा परीक्षण पछि ल्याइएका हुन्छन्। ग्रामीण भेग मात्रै होइन, सहरी क्षेत्र र शिक्षित परिवारभित्रै पनि पहिचान नभएका वा बेवास्ता गरिएका मुटुरोगयुक्त बालबालिका कैयौँ रहेको अनुमान सहजै गर्न सकिन्छ तर रोग पहिचान र उपचारमा दक्ष जनशक्तिको अभाव छ।

विश्वव्यापी तथ्याङ्क अनुसार, जीवित जन्मिने एक हजार बच्चामध्ये आठदेखि दस जनामा यो रोग हुन्छ। विश्वमा हुने मृत्युको ४० प्रतिशत मुटुरोगकै कारण छ। जन्मजात मुटुरोग तथा बाथ मुटुरोगको समयमै पहिचान र उपचार गर्न सकिँदा बालबालिकाको जीवनरक्षा मात्र होइन, भावी वयस्क र प्रौढ पुस्ता स्वस्थ बनाउन सकिन्छ। प्रविधिको विकासका कारण गर्भको बच्चामा समेत मुटुको समस्या भए/नभएको थाहा पाउन सकिने ‘फिटल इकोकार्डियोग्राफी’ सुविधा छ। त्यसले शिशुको मुटुमा समस्या देखाए बच्चा जन्माउन सुविधायुक्त अस्पतालमा सुत्केरी गराउँदा जोखिम कम गर्न सकिने छ। स्वस्थ बालमुटु स्वस्थ भविष्य हो।

काठमाडौँ उपत्यका बाहिर केही केन्द्रमा बालबालिकाको मुटुरोगको सामान्य उपचार भए पनि त्यहाँ बाल मुटुरोग विशेषज्ञ छैनन्। जन्मजात मुटुरोगको उपचार गर्न जनशक्तिका साथै उच्च प्रविधिको क्याथल्याब उपत्यका बाहिरका अस्पतालमा विस्तार गरिनु आवश्यक छ। हाल मनमोहन र गङ्गालालमा मात्र रहेको शल्यक्रिया बिना हात या खुट्टाको नसाबाट तार (क्याथेटर) छिराएर समस्याग्रस्त मुटुको प्वाल टाल्ने उपचार पद्धति ‘ट्रान्स क्याथेटर इन्टरभेन्सन’ लाई काठमाडौँ बाहिर पनि विस्तार गर्नु आवश्यक छ। नेपाल डेमोग्रफिक एन्ड हेल्थ सर्भे २०२२ का अनुसार सन् १९९६ देखि सन् २०१६ को बिचमा नेपालमा प्रति एक हजार शिशु जन्मिँदा हुने मृत्यु ५० बाट २१ मा झरेको छ तर त्यसपछि शिशु मृत्युदर घट्न सकेको छैन। काठमाडौँमा सीमित बाल स्वास्थ्य सेवालाई देशका सबै प्रदेशमा फैलाएर सर्वव्यापी स्वास्थ्यमा पहुँच पु-याउँदा बाल मृत्युदर घटाउन सकिने छ।