• २३ असार २०८२, सोमबार

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट हिंसा पीडितलाई प्रभावकारी सेवा

blog

ओसीएमसीबाट भएको सेवा प्रवाहको बारेमा जानकारी गराइँदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, असार २३ गते । स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिममा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले लैंगिक हिंसाबाट प्रभावितहरुका लागि प्रभावकारी कार्य गर्दै आइरहेको पाइएको छ । चालु आर्थिक वर्ष ०८१-०८२ मा विभिन्न प्रकारका हिंसा प्रभावित १४० जनाले ओसीएमसीबाट सेवा पाएको केन्द्रले जनाएको छ ।  

ओसीएमसी रुकुमपश्चिमका सम्पर्क व्यक्ति प्रेमा के.सी.का अनुसार महिला तथा बालबालिकाहरु विभिन्न प्रकारका लैंगिक हिंसाबाट प्रभावित हुने गरेको उनीहरुलाई आवश्यकता अनुसार सहयोग गरिएको हो । उहाँका अनुसार यस वर्ष जिल्लाका ६ वटा पालिका र अन्य जिल्लाका समेत १४० जना प्रभावितलाई सेवा प्रदान गरिएको छ । जसमध्य ९६ जना नयाँ घटनाका पीडितहरु हुन् भने ४४ जना पुराना सेवाग्राही हुन् । 

सम्पर्क व्यक्ति केसीका अनुसार यौनजन्य दुर्व्यवहार घटनाका ८ जना, शारीरिक दुर्व्यवहारका २४ जना, स्रोत साधन तथा अधिकारबाट वञ्चित एक जना, मानसिक दुर्व्यवहारका ४५ जना र बलात्कार घटनाका १८ जनालाई यस वर्ष सेवा दिइएको छ । उनीहरुलाई मनोसामाजिक परामर्श सेवा, स्वास्थ्य सेवा, सुरक्षा, सुरक्षित आवास, कानुनी परामर्श र उपचार, चिकित्साजन्य प्रमाण सङ्कलन र संरक्षण र परिवार वा समुदायमा पुनस्थार्पनाको काममा ओसीएमसीले सहायता प्रदान गरेको हो । 

हिंसा प्रभावितहरुलाई प्रदान गरेको सेवाको बिषयमा सोमबार जिल्ला प्रशासन कार्यालयमा लैंगिक हिंसा व्यवस्थापन समन्वय समितिको छलफल  सम्पन्न गरिएको छ । बैठकले ओसीएमसीबाट प्रभावकारी कार्य भइरहेको र आगामी दिनहरुमा थप समन्वयात्मक रुपमा कार्य गर्नुपर्ने विषयमा छलफल भएको छ । 

बैठकमा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, प्रहरी नायब उपरीक्षक प्रमेश बिष्ट, जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, स्वास्थ्य सेवा कार्यालका व्यवस्थापक डा. महेश चौलागाई, जनस्वास्थ्य अधिकृत कालिबहादुर ओली, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष ब्युझना पुन, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष अन्जना केसीलगायतको सहभागिता थियो ।