गोरखापत्र अनलाइन
काठमाडौँ, असार २३ गते । नेपाल चिकित्सक सङ्घले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक सङ्घले आज (सोमबार) देशभरका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेको हो ।
केही दिन अगाडि उपभोक्ता अदालतले उपचारमा लापरबाहीका कारणले बिरामीलाई क्षति पुगेको भन्दै बिरामी र बिरामीका आफन्तको उजुरीमा ओम, हिमाल र ग्रान्डी सिटीगरी तीनवटा अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई उपचारमा लापरबाही भएको ठहर गर्दै क्षतिपूर्तिको फैसला सुनाएको थियो।
यो निर्णय सार्वजनिक भएसँगै यसको विरुद्धमा चिकित्सक सङ्घले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सङ्घको घोषित कार्यक्रम अन्तर्गत आइतबार आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने, असार २३ गते सोमबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेक सेवा बन्द गर्ने, चिकित्सकबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र सङ्कलन गरी सङ्घको केन्द्रीय कार्यालय बुझाउने कार्यक्रम तय भएको छ । मङ्गलबार काउन्सिलमा प्रमाणपत्र फिर्ता गर्नेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
चिकित्सक सङ्घको आन्दोलनको एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एसोसिएसन, नेपाल फिजियोथेरापी एसोसिएसन, नेपाल भेटेरिनरी एसोसिएसन, एनाभिएमआइए, एनपिएचओ लगातयका संस्थाले ऐक्यबद्धता जनाएका छन् ।