कीर्तिपुर (काठमाडौँ), असार २३ गते । यसवर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ । गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले रिजाललाई सम्मानपत्र र रु. एक लाखसहित उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।
यसैगरी रु. एक लाख राशिको सङ्गीततर्फको छिन्नलता पुरस्कार आभास (अच्युतप्रसाद फुयाल) लाई र रु. एक लाखकै गायनतर्फको पुरस्कार रामभक्त जोजिजु र इतु जोजिजुलाई संयुक्त रूपमा प्रदान गरियो ।
साथै रु. ५० हजार राशिको युवा प्रतिभातर्फको छिन्नलता पुरस्कार गायक एसडी योगीलाई प्रदान गरिएको जनाइएको छ ।
त्यस अवसरमा सभामुख घिमिरेले राष्ट्रिय भाव उत्पन्न गर्ने सृजनाहरु छिन्नलताको विशेषता भएको बताउनुभयो । गीतकार राजेन्द्र रिजालले पुरस्कारबाट आफूलाई थप हौसला मिलेको बताउनुभयो । रासस