संसार डिजिटल युगमा प्रवेश गरेको छ। मानव जीवनको अभिन्न अङ्ग बनेका कम्प्युटर र तिनमा रहने डाटाको सुरक्षा व्यक्ति, संस्था र देशकै सुरक्षाका निम्ति अपरिहार्य बन्न पुगेको छ। संसारभर कम्प्युटरमा राखिएका डाटा कसैले भाइरस पठाएर ध्वस्त पारिदिएपछि दैनिक कामकारबाहीमै असर पर्ने गरेको छ। कागज होइन, कम्प्युटर/इन्टरनेट प्रणालीमा आधारित डिजिटल युगमा प्रवेश गर्दैगर्दा नेपालमा पनि व्यक्तिगतदेखि राष्ट्रकै अति संवेदनशील सूचनाहरू कम्प्युटरमै भण्डार भइरहेका छन्। कम्प्युटर आफूसँगै रहे पनि डिजिटल प्रविधिले त्यसमा अपराधीहरूको पहुँच पनि पु¥याइदिएको हुन्छ। त्यस्ता अपराधीको डिजिटल आक्रमणबाट व्यक्ति, व्यावसायिक सङ्गठन र मुलुकको व्यवस्थापकीय प्रणाली र संवेदनशील जानकारीलाई जोगाउने अभ्यास हो साइबर सुरक्षा। यसले सूचनाको सुरक्षा गर्न र कुनै पनि संस्था वा व्यक्तिलाई साइबर आक्रमण रोक्न वा पत्ता लगाउन सघाउँछ। यही सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रमुखसहितको बैठक बोलाएर साइबर सुरक्षामा गम्भीर भएर काम गर्न निर्देशन दिनुभएको छ।
सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट सुशासनको प्रत्याभूतिसँगै पारदर्शी एवं प्रभावकारी सार्वजनिक व्यवस्थापनको अपेक्षा गरिएको छ। राज्य व्यवस्थाको सञ्चालन, विकास व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा नागरिकका दैनिक क्रियाकलाप डिजिटल प्रविधिमा निर्भर हुँदै गइरहेको छ। सूचना प्रविधिको निरन्तर विकास, बढ्दो प्रयोग एवं गतिशिलतासँगै दिनानुदिन बढ्दै गइरहेको व्यक्तिगत, संस्थागत डाटा चोरी/दुरुपयोग, सूचना प्रविधि प्रणालीमाथिको अनाधिकृत पहुँच, साइबर अपराध, सूचना प्रविधि प्रणालीमाथि साइबर आक्रमण भइरहेका छन्। व्यक्ति, व्यवसायदेखि सरकारी संयन्त्रमा पनि भइरहेको डिजिटल क्रान्तिका बिच इन्टरनेट र कम्प्युटर प्रविधिमा आफ्ना अभिलेखलाई सुरक्षित राख्न अति आवश्यक भएको छ। यसलाई साइबर सुरक्षाका रूपमा समेत चिन्न सकिन्छ।
कम्प्युटर ह्याकिङ प्रविधिले नयाँ शैली प्रयोग गर्दै आएको छ। कम्प्युटर ह्याकिङ, भाइरस र नेटवर्क अट्याक जस्ता कार्यमार्फत केहीले रहरले अरूका कम्प्युटर र गोप्य कागजात कब्जा गर्ने गर्छन् त केहीले यसैलाई पेसा बनाएर धनार्जन पनि गरेका छन्। इन्टरनेटमार्फत अनेक किसिमका लिङ्क पठाउने र तीमार्फत भाइरस छिराइ फाइल नष्ट गर्ने चलन पनि छ। अवैध ह्याकिङ र भाइरस पठाउनुको उद्देश्य व्यक्तिका सूचना हासिल गर्ने, तिनलाई अप्ठेरो पार्ने र ‘ब्ल्याकमेलिङ’ गर्नु नै हुन्छ।
केही वर्षयता विभिन्न रूपमा अभिलेखको चोरीदेखि डिजिटल सुरक्षाको विषय निकै चासोपूर्ण भएको छ। विज्ञहरूको आकलन अनुसार अब विश्वमै आगामी वर्षमा अटोमोबाइल ह्याकिङमा वृद्धि हुन सक्ने, कृत्रिम बौद्धिकताको क्षमतामा हुने वृद्धिसँगै थप जोखिम निम्तिने छ। हरेक व्यक्तिले आफ्नो
बैङ्कदेखि आर्थिक क्रियाकलापलगायत सम्पूर्ण विवरण मोबाइलमा राख्ने भएकाले अब ह्याकरहरूले मोबाइललाई आफ्नो लक्ष्य बनाउने जोखिम उच्च देखिएको छ। मुख्य जोखिम त तथ्याङ्क चोरीको देखिएको छ। आफ्ना सूचना चोरी हुने डरले अधिकांश अर्बपतिले स्मार्टफोन नै प्रयोग गर्दैनन्, गरे पनि अति सुरक्षित मोबाइल फोन मात्र प्रयोग गर्छन्, उनीहरूका कम्प्युटर पनि त्यत्तिकै सुरक्षित हुन्छन्। आफ्ना सूचना चोरिने डरले प्रविधि उपयोग नै नगर्नु व्यावहारिक हुँदैन तर त्यस किसिमका आक्रमणबाट कसरी बच्ने भन्नेतर्फ सचेत भने हुनै पर्छ।
नेपालमा पनि बेलाबखत कम्प्युटर ह्याक हुने, वेबसाइट फ्रिज हुने, भाइरसले सूचना नष्ट गरिदिने घटना नौलो होइन। बेलाबखत बैङ्किङ प्रणाली मात्र होइन, विमानस्थल, सरकारी संयन्त्रको कम्प्युटर प्रणाली अवरोध हुँदा हामीले समस्या भोगिसकेका छौँ। यहाँ सूचना प्रविधिको प्रयोग जुन गतिमा बढिरहेको छ, देशभरि डिजिटल सञ्जाल बढ्दो छ, त्यस हिसाबले यस्तै प्रकृतिको बृहत् आक्रमण भयो भने हुने क्षतिको आकलन गर्न सकिन्न। यस्तो आक्रमणको डरले डिजिटल युगमा प्रवेशको प्रक्रिया रोकिनु हुँदैन। बरु डिजिटल प्रतिरक्षा प्रणाली दह्रो बनाउने, आफ्ना सामग्री बढीभन्दा बढी सुरक्षित राख्नेतर्फ सचेत हुनु जरुरी छ। कतिपय विज्ञले अब कम्प्युटरमार्फत युद्ध हुने घोषणा गरिसकेका छन्। हुन पनि ह्याकरले भाइरसमार्फत संसारभरि पार्ने असर र त्यसको क्षति आकलन नै गर्न नसकिने किसिमको हुन्छ। हो, डिजिटल युगसँगै जोखिमको पनि नयाँ युग आउँदै छ। यही चुनौती महसुस गरेर साइबर सुरक्षाको क्षेत्रलाई बलियो बनाउने गरी कानुनी, नीतिगत र संस्थागत प्रबन्ध अत्यावश्यक छ। मुलुकले आफ्नो सीमा, जनधन सुरक्षालाई जस्तै महत्त्व कम्प्युटर प्रणाली र सञ्जालको सुरक्षा सतर्कतालाई दिनु आवश्यक छ।