• ८ मंसिर २०८१, शनिबार

जलप्रकोपप्रति सतर्कता

blog

देशका विभिन्न स्थानमा सोमबार रातिदेखि भएको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानलगायत प्राकृतिक विपत्को सामना गर्नु परिरहेको छ । सोमबार र मङ्गलबार देशका विभिन्न भागमा १४ वटा बाढीपहिरोजन्य घटनामा परेर दुई जनाको ज्यान गयो भने सात जना बेपत्ता भएका छन् । वैशाखयता बाढीपहिरोलगायतका घटनामा परेर १३० जनाको ज्यान गइसकेको छ, ३४ जना बेपत्ता भएका छन् । चार हजार ६३१ घरपरिवार प्रभावित बनेका छन् । पशुधन, खेतबारी र अन्नबालीमा भएको क्षतिको आकलन हुन सकेको छैन । मनसुनको सुरुमै पूर्वी पहाडी क्षेत्रमा हाँडीघोप्टे वर्षाले क्षति भए पनि कृषिकर्मका लागि आवश्यक परेको बेला नियमित वर्षा नहुँदा तराई मधेशलगायत क्षेत्रमा किसानले रोपाइँ गर्न पाएनन् । सिँचाइ सुविधा नभएका ठाउँमा रोपो सुक्न थालेको बेलामा दुई दिन अविरल वर्षा हुँदा किसानको मन शीतल त भयो तर बाढी र पहिरोले देशभरकै जनजीवनमा असर परेको छ । प्रभावितको उद्धार, राहत र पुनस्र्थापना अनि अझै सम्भावित जोखिम सामनाको पूर्वतयारीमा सतर्कतासाथ राज्यका सम्पूर्ण संयन्त्र र समुदाय लाग्नुपर्ने भएको छ । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी पहिरो र ढुवान जस्ता मनसुनजन्य विपत्को चपेटामा मकवानपुर, धनुषा, पाल्पा, चितवन, बागलुङ, नुवाकोट, सिन्धुली, कैलाली, कञ्चनपुरलगायत तराईका अधिकांश जिल्ला परेका छन् । तराईतिर अझै पनि बाढी र डुबानको जोखिम कायम छ । मङगलबार मध्याह्नदेखि वर्षा कम भएकाले नदीहरूको बहाव स्थिरतातिर फर्के पनि वर्षा हुनासाथ फेरि भेलबाढीको सम्भावना कायमै छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना देखाएको छ । अझै केही समय नदीको जल सतह बढ्ने, बाढी, भूक्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने पूर्वानुमान गरिएको छ । त्यसबाट जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने क्षतिबाट बच्न सतर्कता अपनाउनु जरुरी छ । 

नेपाली भूगोल र जनजीवन मनसुन आधारित छ । खेती प्रणाली मनसुनमै आधारित छ । खानेपानी, बिजुली निकाल्ने पानीको मूलको आधार नै मनसुन हो । अर्थात् जीवन आधार बनेको मनसुन जीवन लिने प्रकोपको कारणसमेत बन्छ । मनसुनजन्य जोखिमबाट तत्काल सुरक्षित रहनुपर्ने प्रथम कार्य हो तर भविष्यका लागि पनि सुरक्षा सोच लिइहाल्नुपर्ने बुद्धिमत्ता हुने छ । यो मनसुनी प्रकोपले नेपालमा मानवीय लापरबाही वा उदासीनताले नै बढी जोखिम निम्त्याउने पुष्टि गरेको छ । काठमाडौँ उपत्यकामा रातभर सामान्य वर्षा हुँदा यहाँका खोलाको बहाव बढेर खोला छेउका बस्ती, सडक र पसल डुबानमा परे । राजधानी, महानगरपालिका, नगरपालिका रहेको काठमाडौँ सहर भनिए पनि यहीँकै बस्ती योजना व्यवस्थित छैन । तीन तहका सरकारी योजना अनि मानव व्यवहार नै नदी र खोलाहरू साँघुरो पार्ने, पुर्ने छन् । पानी स्वाभाविक रूपमा बहने बाटो नपाएपछि घरभित्र पस्यो, डुबायो । दोष पानीको होइन, व्यवस्थाको हो । 

वर्षाका कारण मुलुकका अधिकांश ग्रामीण सडक पहिरोका कारण अवरुद्ध छन् । पृथ्वी राजमार्ग, कोशी राजमार्ग, सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, अरनिको राजमार्गलगायत विभिन्न सडक खण्ड पहिरोको चपेटामा परेका छन् । यातायात रोकिएको छ । यात्रुको सडकमा बास भएको छ । सडकहरू निर्माण, विस्तार र स्तरोन्नतिका क्रममा भूअवस्था ख्याल नगरी उपकरण प्रयोग र डिजाइन गर्दाको परिणाम पहिरोको प्रकोप छ,, सडक भासिएका छन् । विकास निर्माणका सिद्धान्त पालना नगरी जथाभावी सडक बनाउने र विस्तार गर्ने प्रवृत्तिका कारण सामान्य वर्षामै ठुलो विपत् सहनु परिरहेकोले अब मापदण्डमा आधारित विकास निर्माण र बस्ती योजना चलाइनु पर्छ । 

मनसुन प्रारम्भ हुनुको पूर्वघडीमा सरकारले जोखिम न्यूनीकरण र प्रतिकार्यको योजना बनाएको थियो । यतिखेरको प्रकोपमा सुरक्षाकर्मीले वृद्धवृद्धा, बालबालिका र अशक्तलाई पिठ्युँमा बोकेर उद्धार गरिरहेका दृश्यले सुरक्षाकर्मीप्रति सम्मान बढाएका छन् । तर तत्कालीन क्षति कम गर्न, पीडितको उद्धार राहत र पुनस्र्थापनामा नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने स्थानीय सरकारमा बढी जागरुकता अपेक्षित छ । तराईका केही नदीमा मात्र होइन, बाढी पूर्वसूचना प्रणाली उपल्लो भेगमा पनि स्थापना गर्नु जरुरी छ । आगो लागेपछि मात्र इनारको खोजी गर्ने प्रवृत्तिले जनजीवनको जोखिम घटाउने छैन । जल जीवन हो तर यसबाट उत्पन्न प्रकोपले ज्यान अनि धन लिन्छ । जलप्रकोपप्रति समयमै उच्च सतर्कता आवश्यक छ ।