अहिले देशका धेरै जिल्लामा डेङ्गु रोग फैलिइरहेको छ। लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगका सङ्क्रमित बढ्दै छन्। डेङ्गुबाट सबैभन्दा बढी प्रभावित सुनसरीको धरान उपमहानगरपालिका छ। जेठ तेस्रो सातायता धरानमा डेङ्गु सङ्क्रमणबाट आठ जनाको ज्यान गइसकेको छ भने पाँच हजारभन्दा बढी सङ्क्रमित छन्। त्यहाँ दैनिक दुई सय जनाभन्दा बढी सङ्क्रमित भइरहेका छन्। यसै गरी मोरङ जिल्लामा पनि डेङ्गु फैलिँदो छ। गत असार १ गतेदेखि हालसम्म मोरङमा ८६५ जना सङ्क्रमित भइसकेका छन्। डेङ्गु रोग एक प्रमुख जनस्वास्थ्य समस्याका रूपमा विकास हुँदै गएको छ। प्रमुख जनस्वास्थ्य समस्याका रूपमा संसारका कतिपय देशमा रहेको डेङ्गुको निवारण छोटो समयमा हुने सम्भावना देखिँदैन। यसको नियन्त्रणका लागि लामखुट्टेका लार्भा, प्युपा र वयस्कको प्रभावकारी व्यवस्थापन हुनु पर्छ। सङ्क्रमित व्यक्तिको यथासम्भव चाँडो उपचार तथा व्यवस्थापनमा राज्य संयन्त्र नै परिचालित हुनु पर्छ। सरकारको डेङ्गु नियन्त्रणसम्बन्धी प्रभावकारी नीति र कार्यक्रम अपरिहार्य देखिएको छ।
किटविज्ञका अनुसार डेङ्गु एडिज एजिप्टाई र एडिज एल्बोपेक्टस नामका लामखुट्टेले टोकेर हुने तीव्र भाइरस सङ्क्रमण हो। डेङ्गु सङ्क्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग मानिसमा सर्छ। यो लामखुट्टेको आयु एकदेखि तीन महिनासम्म हुन्छ। डेङ्गुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे सङ्क्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ। यो रोग सिधै एक मानिसबाट अर्को मानिसमा सर्दैन। डेङ्गु सामान्यतया शीतोष्ण र समशीतोष्ण क्षेत्रमा फैलिने गरेको छ।
विश्वमा सन् १९७० भन्दा अघि केवल नौ वटा देशले मात्र डेङ्गु महामारीको सामना गर्नु परेको थियो भने हाल धेरै मुलुकले नियमित वा केही वर्षको अन्तरालमा यो रोगको महामारी झेल्नु परिरहेको छ। विश्वमा विगत ५० वर्षमा डेङ्गु
सङ्क्रमण ३० गुणाभन्दा बढी विस्तार भएको बताइन्छ। विश्वको आधाभन्दा बढी जनसङ्ख्या यसको जोखिममा रहेका छन्। नेपालका सबै छिमेकी मुलुक पनि डेङ्गु रोगबाट प्रभावित भएका छन् र यसका विरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गु सङ्क्रमित एक विदेशी फेला परेका थिए। त्यसपछि २००६ मा तराई र भित्री मधेशमा डेङ्गु सङ्क्रमित देखिन थाले। सन् २०१० मा चितवन र नवलपरासीमा महामारीका रूपमा फैलियो। सन् २०१८ देखि डेङ्गु कास्की, मकवानपुर हुँदै अहिलेसम्म यो रोग पहाडी क्षेत्रमा समेत फैलिई ठुलो क्षति भइसकेको छ।
चिकित्सकका अनुसार उच्च ज्वरो, पेट र टाउको दुख्ने, वाकवाकी लाग्ने, आँखाका गेडी दुख्ने, जिउ र जोर्नीहरू दुख्ने, सामान्यतः ज्वरो आएको तीनदेखि पाँच दिनमा राताराता बिमिरा आउने डेङ्गुका लक्षण हुन्। तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेङ्गु भएको बुझ्नु पर्छ। डेङ्गु ज्वरो आउँदा शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ। डेङ्गु रोगविरुद्धको कुनै पनि खास औषधी छैन। तथापि चाँडो पत्ता लगाउने र उपयुक्त उपचार व्यवस्थापन भएमा मृत्युदर एक प्रतिशतभन्दा कममा झार्न सकिने चिकित्सक बताउँछन्। समयमै उपचार हुन सके रोग निको हुन सक्छ र मृत्युदर १ प्रतिशतभन्दा कम हुन्छ। यसविरुद्धको खोप र खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट जोगिने मुख्य उपाय हो।
आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने, लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने सुझाव चिकित्सकको छ। घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुन सुकै बेला झुल लगाएर मात्र सुत्ने र पूरै शरीर ढाक्ने लुगा लगाउने लामखुट्टेको टोकाइबाट जोगिने उपाय हुन्। लामखुट्टे खोज र नष्ट अभियान देशभर नै खास गरी सहरी र सडक सञ्जाल फैलिएका ठाउँमा चलाइनु पर्दछ। डेङ्गु नियन्त्रणमा सरकार, समुदाय र हरेक व्यक्तिको उत्तिकै भूमिका रहन्छ। सामुदायिक स्वास्थ्य संस्थाहरूले जनसाधारणको प्रत्यक्ष सहभागितामा सरसफाइ, नागरिकका स्वस्थ जीवनशैली, रोग रोकथाम र स्वास्थ्य प्रवर्धनका कार्यक्रम चलाउन आवश्यक छ। बहुपक्षीय सहकार्य, समन्वय र प्रशासनिक सुधारमार्फत स्वास्थ्य सेवा प्रभावकारी बनाउनु पर्दछ।