चिनी खरिद अन्योलमा
चाडपर्व नजिकिँदै गए पनि सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी खरिदका लागि दुई महिनाअघि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद अगाडि बढ्न नसकेको हो । वाणिज्य मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले अर्थ मन्त्रालयले चिनी आयातका लागि स्वीकृत नदिँदा प्रक्रिया अगाडि बढाउन नसकेको जानकारी दिनुभयो । भन्सार छुटमा चिनी आयात गर्नका लागि सहमति दिनका लागि अर्थ मन्त्रालयमा दुई महिनाअघि प्रस्ताव पेस गरेको भन्दै उहाँले भन्नुभयो, “यो वर्ष चिनी उत्पादन कम भएको र समयमा आयात नहुँदा चाडपर्वमा अभाव भई महँगो हुन सक्ने देखिएको छ ।”
सन्तोषजनक छैन सार्वजनिक संस्थानको अवस्था
२४ सार्वजनिक संस्थानले आव २०७७/७८ को लेखापरीक्षण गराएका छैन । प्रत्येक आर्थिक वर्ष सकिएपछि तत्काल लेखापरीक्षण गर्नुपर्ने व्यवस्था रहे पनि सरकारी स्वामित्वका ती संस्थानले लेखापरीक्षण नगराएका हुन् । नेपाल ओरिन्ड म्याग्नेसाइट प्राइभेट लिमिटेड (हाल सञ्चालनमा नरहेको)ले १३ वर्षदेखि र साझा प्रकाशनले नौ वर्षदेखि लेखापरीक्षण नगराएको पाइएको छ ।
‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सुरु गर्नुभएको छ । आइतबार पहिलो दिन उहाँले मन्त्रालयको कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत श्रमिकका गुनासा सुन्दै कार्यक्रमको सुरुवात गर्नुभएको हो । प्रत्येक आइतबार मन्त्री कुँवरले फोनमार्फत प्रत्यक्ष श्रमिकको गुनासो सुन्ने र तिनको सामाधनका लागि पहल गर्नुहुने बताइएको छ ।
धानबालीमा पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या
रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याउनुभयो । रामपुर बेझाडमा रहेको सूर्योदय कृषि सहकारी संस्थामार्फत हालसालै वितरण गरिएको युरिया मल उहाँको धानबालीमा राख्न पर्याप्त छैन । तैपनि मलको हाहाकारले चर्को घाममा लामो समय लाइनमा बसेर मल पाउँदा भने उहाँ खुसी हुनुहुन्छ ।
सहकारी विभागद्वारा निर्देशन जारी सात दिनभित्र विवरण सार्वजनिक गर्नुपर्ने
सहकारी विभागले एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न सहकारी संस्थालाई निर्देशन दिएको छ ।हालै जारी गरेको सो निर्देशनमा विभागले सम्पूर्ण सहकारी संस्थालाई एक साताभित्र सार्वजनिक सूचना प्रकाशन गरेर सदस्यलाई संस्थाको वित्तीय विवरण जानकारी गराउन निर्देशन दिएको हो । सो निर्देशनबमोजिम अब सहकारी संस्थाले सेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल सेयर सदस्य सङ्ख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल संस्थागत पुँजी र विभिन्न कोषमा रहेको रकमबारे सदस्यलाई नियमित रूपमा जानकारी गराउनुपर्नेछ । यसरी विवरण सार्वजनिक गरेपछि हरेक महिना पनि विवरण सार्वजनिक गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
मल किन्न थप सोह्र अर्ब
अर्थ मन्त्रालयले रासायनिक मल खरिद गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि १६ अर्ब २० करोड रुपियाँ थप बजेट सुनिश्चित गरेको छ । कृषि मन्त्रालयको मागअनुसार अर्थ मन्त्रालयले रकम सुनिश्चित गरेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । रकमको सुनश्चित भइसकेपछि भारतबाट मल ल्याउनका लागि प्रचिङ अर्डर (पीओ) पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
न्यून सञ्चालनमा चोभार बन्दरगाह
काठमाडौँको चोभारमा सञ्चालनमा ल्याइएको चोभार सुक्खा बन्दरगाह (ड्राइपोर्ट) प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन ।सञ्चालनमा आएको चार महिना हुँदा पनि न्यून सङ्ख्यामा मात्र सामान बोकेका कन्टेनर भित्रिएका छन् । इन्टरमोडल यातायात विकास समितिका अनुसार यो सुक्खा बन्दरगाहमा चार महिनाको अवधिमा आयातित सामान लिएर १८ वटा कन्टेनर भित्रिएका छन् भने दुई कन्टेनर सामान निर्यात भएको छ । गत असार २८ गते दुई कन्टेनर सामान यो बन्दरगाहबाट निर्यात भए पनि त्यसपछि निर्यात हुन सकेको छैन ।
दुर्गमका विद्यार्थीलाई इन्डक्सन वितरण गरिँदै
राजधानीमा डेरा गरी बसेर उच्च शिक्षा हासिल गरिरहेका दुर्गमका विद्यार्थीलाई यसै साता निःशुल्क विद्युतीय चुलो वितरण गरिने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले करिब १० हजार यस्ता विद्यार्थीलाई दिने तयारी गरे पनि दुई हजार आठ सय आवेदन मात्र योग्य भएकाले हाल यतिलाई मात्रै विद्युतीय चुलो उपलब्ध गराउने तयारी गरिएको हो ।
भन्सारको नाम देखाउँदै ठग्दै
झट्ट हेर्दा सरकारी कर बिजकजस्तै देखिनेगरी सार्वजनिक बिदाकै दिन शुक्रबार एउटा बिल जारी भयो । भन्सार विभागको लोगो र नाम अङ्कित उक्त बिजकमा २५६ जीबीको आइफोन प्रो म्याक्स, एप्पल वाच र एयरपोड्स प्रो छुटाउन १८ हजार रुपियाँ भन्सार शुल्क बुझाउनुपर्ने उल्लेख थियो
दक्षिण कोरियाबाट ल्याइँदै साँढे र गाई
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत दक्षिण कोरियाबाट साँढे र गाई ल्याउने भएको छ । कृषि मन्त्रालयले विगत पाँच वर्षदेखि हेफर इन्टरनेसनलमार्फत साँढे र गाई ल्याउने प्रयास गरेको थियो । त्यो बल्ल सफल हुने भएको छ । यो सबै प्रक्रिया पूरा भएपछि उन्नत जातका २० वटा साँढे र १०१ वटा गाई ल्याइने भएको हो । अबको दुई महिनाभित्र ती साँढे र गाई नेपाल आइपुग्ने हेफर इन्टरनेसनलले जनाएको छ ।
लुम्बिनी प्रदेशमा आन्तरिक आय नबढे खर्च धान्न मुस्किल
लुम्बिनी प्रदेश सरकारको आन्तरिक आम्दानीले प्रदेशको प्रशासनिक खर्च धान्नसमेत समस्या हुने देखिएको छ । प्रदेश सरकारले आव २०७८÷७९ का लागि कुल ४० अर्ब ९५ करोड रुपियाँको बजेट प्रस्तुत गरे पनि कुल आय भने ३७ अर्ब ११ करोड रुपियाँ मात्रै रहेको थियो । यो आर्थिक वर्षमा प्रदेश सरकारले खर्च र आय दुवैमा लक्ष्य भेट्टाउन सकेन ।
महिला उद्यमीका उत्पादन प्रवर्धनमा जोड
ललितपुरको सानेपामा सुरु भएको छैटाैँ महिला उद्यमी व्यापार मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादन एकै थलोमा राखिएको छ । महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यका साथ सुरु गरिएको मेलामा एकै स्थानमा सबै सामान खरिद गर्न पाउने हुँदा अवलोकन गर्ने ग्राहकको आकर्षण बढ्दै गएको छ । महिला उद्यमी महासङ्घको आयोजनामा सुरु भएको मेलामा सात प्रदेशका ३० जिल्लामा महिला उद्यमीले उत्पादन गरेका सामान राखिएको छ ।
दबाबमा बनाइन्छन् विमानस्थल
हवाई यातायातबाट राज्यले अधिकतम फाइदा लिने उद्देश्यले देशभर निर्माण भएका ५३ विमानस्थलमध्ये १६ वटा विमानस्थल घाटामा सञ्चालन भइरहेका छन् । विमानस्थल निर्माणका लागि आवश्यकता, औचित्य र दीर्घकालीन रूपमा विमानस्थल सञ्चालनको सुनिश्चितता नहुँदा आन्तरिकतर्फका १६ वटा विमानस्थल बर्सेनि घाटामा सञ्चालन हुँदै आएका हुन् । हाल देशभर अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ गरेर ५३ विमानस्थल छन् । तीमध्ये आन्तरिकतर्फका १९ वटा विमानस्थल गौचरनमा परिर्वतन भइसकेका छन् । सञ्चालनमा रहेका विमानस्थलमध्ये विमानस्थलमध्ये १८ वटा विमानस्थल मात्रै नाफामा सञ्चालन हुँदै आएका छन् । सञ्चालनमा रहेका विमानस्थलमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य विमानस्थल आन्तरिक उडानमा प्रयोग हुँदै आएका छन् । तराई र उच्च हिमाली क्षेत्रमा रहेका विमानस्थल मात्रै नाफामा रहेका छन् ।
एक वर्षमा एमसीए परियोजना कार्यान्वयन हुने
मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले कार्यान्वयन गर्ने अमेरिकी अनुदान सहायताका दुई परियोजना एक वर्षपछि कार्यान्वयनमा ल्याइने भएको छ । आयोजना कार्यान्वयनका लागि एमसीसी सम्झौताको संसदीय अनुमोदन समयमा हुन नसक्दा कार्यक्रम कार्यान्वयन सुरु गर्ने अवधि पूर्वनिर्धारितभन्दा तीन वर्षपछाडि सारिएको छ । एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार आगामी सेप्टेम्बरदेखि प्रसारण लाइन र सडक स्तरोन्नति सुरु हुनेछ ।
वैदेशिक रोजगारीबाट दस खर्ब विप्रेषणसँगै दैनिक पाँच शव
गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा झन्डै एक हजार पाँच सयले ज्यान गुमाएका छन् । आव २०७८/७९ मा वैदेशिक रोजगारीबाट १० खर्ब सात अर्ब ३१ करोड रुपियाँ विप्रेषण भित्रिँदा एक हजार ४७९ जनाले रोजगारीकै क्रममा विदेशी भूमिमा ज्यान गुमाएका छन् । विदेशी मुद्रा आर्जनमा महत्त्वपूर्ण स्रोत रहेको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण आव २०७८/७९ मा आठ अर्ब ३३ करोड अमेरिकी डलर हो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो विप्रेषण आर्जन नेपाली मुद्रामा ९.८ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले वृद्धि हो ।
इतिहास सम्झाउन सिन्जामा हाटबजार
यहाँको सिन्जा गाउँपालिकाले मासिक हाटबजार सुरु गरेको छ । यहाँको सिन्जा गाउँपालिकाले सिन्जा सभ्यताको पहिचान जगाउने र आर्थिक उत्पादन बजारीकरण गर्ने भन्दै हरेक महिनाको १ गते हाटबजार सुरु गरेको हो । वि. सं. १८४६ पूर्वको तत्कालीन शक्तिशाली सिन्जा राज्यका बेलादेखि प्रयोग हुँदै आएको ‘हाट’ शब्दले आफ्नै इतिहास बोकेको छ । त्यसबेला भारत र तिब्बत, चीनका व्यापारी, उपभोक्तालाई आकर्षण गर्ने गरी सिन्जामा लाग्ने ‘हाट’ आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक र भू–राजनीतिक दृष्टिले पनि निकै महत्त्वपूर्ण मानिन्थ्यो । ‘हाट’कै कारण १२औँ शताब्दीदेखि १४औँ शताब्दीसम्म सिन्जा खस राज्य आर्थिक रूपमा बलियो भएको इतिहास छ । उतिबेलाको ‘हाट’ आजको प्रमुख व्यापारिक केन्द्रजस्तै भएको बुद्धिजीवी बताउँछन् ।
सीमाविहीन परिवहन व्यवस्था गर्न माग
नेपालबाट भारतमा हुने व्यापारमा ढुवानीको व्यवस्था सीमाविहीन हुनुपर्ने सुझाव व्यक्त गरिएको छ । नेपाली ढुवानी साधनको निर्बाध आवागमनको व्यवस्था गरेर द्विपक्षीय व्यापार सम्झौता संशोधन गर्न यहाँका उद्यमी व्यापारीले सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ समितिको आयोजनामा विराटनगरमा भएको ‘सीमावर्ती भारतीय क्षेत्रसितको व्यापार सम्भावना’ विषयक गोष्ठीमा दुई देशबीचकोे व्यापार सम्झौता संशोधन गरेर गैरभन्सार अवरोध हटाउन पहल गर्नुपर्ने सुझाव दिइएको थियो ।
खाद्य सुरक्षाका लागि कृषि उत्पादन बढाउन आवश्यक
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको खाद्य सुरक्षा सुनिश्चित गर्न कृषि उत्पादन बढाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् तथा नेपाली सेनाद्वारा संयुक्त रूपमा आयोजना गरिएको ‘नेपालमा खाद्य सुरक्षा’ विषयक दुईदिने सेमिनारलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले खाद्य सुरक्षाको ग्यारेन्टी गर्न कृषिमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६८ दशमलव २६ मा पुगेको छ ।
सिंहदरबारबाट ग्यास हटाउने अभियान सुरु
मुलुकको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारबाट खाना पकाउने (एलपी) ग्यास हटाउने अभियान सुरु भएको छ । चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको सो कार्यक्रमअनुरूप पहिलो चरणमा अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्यान्टिनबाट ग्यास हटाउन थालिएको हो । ऊर्जा मन्त्रालयमा रहेको न्यु कञ्चन चमेना गृह र अर्थ मन्त्रालयमा रहेको सीएमएस हस्पिटालिटी क्यान्टिनले पूर्ण रूपमा ग्यास सिलिन्डर हटाएका छन् । अरू क्यान्टिनमा भने ग्यासको प्रयोग भइरहेको छ ।
सामाजिक सुरक्षा कोष : विशेष सापटी सुरु
सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी रकम प्राप्त थालेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी कोषमा योगदान गर्नुभएका विनयकुमार महतो र पवनबाबु प्रधानलाई विशेष सापटी योजनाअन्तर्गतको रकम प्रदान गर्नुभएको हो ।
शिलान्यासमै सीमित औद्योगिक क्षेत्र
पाँच वर्षमा सम्पन्न गर्ने भनिएका छवटा नयाँ औद्योगिक क्षेत्र निर्माण कार्य सात वर्ष हुँदा पनि सुरु हुन सकेका छैनन् । शिलान्यास गरेको दुई वर्ष बितिसक्दा पनि निर्माण कार्य अगाडि बढेको छैन । कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, चितवनको शक्तिखोर, मकवानपुरको मयूरधाप र झापाको दमक औद्योगिक क्षेत्रको शिलान्यास २०७७ फागुनमा भएको थियो ।
काठमाडौँ र पोखरा व्यस्त विमानस्थल
हाल सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमध्ये आन्तरिक उडानतर्फ उपत्यकाबाहिरको सबैभन्दा बढी व्यस्त पोखरा विमानस्थल देखिएको छ । उडान सङ्ख्या र यात्रु ओहोरदोहोरका आधारमा पाँच वर्षयता सो विमानस्थल सबैभन्दा बढी व्यस्त देखिएको हो ।
काउली र गोलभेँडामा घातक विषादी
काउली र गोलभेँडासहित विभिन्न पाँच किसिमका तरकारीमा घातक विषादीको अवशेष पाइएको छ । कालीमाटी तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशालामा परीक्षण गरेका तरकारीका नमुनामध्ये काउली, तुनेबोडी, गोलभेँडा, हरियो खुर्सानी र भेँडेखुर्सानीमा बढी विषादीको अवशेष फेला परेको पाइएको हो ।