अर्थतन्त्र सकारात्मक
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सकारात्मक ढङ्गले अगाडि बढेको बताउनुुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय विप्रेषण आप्रवाह बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि बढ्दै गएकाले अर्थतन्त्र सबल र सुधार हुँदै गएको बताउनुभयो । “सही नीति नलिएको भए मुलुकको आर्थिक अवस्था श्रीलङ्काको जस्तै हुने अवस्था आउने थियो । सरकारले बेलैमा होसियारी अपनाएका कारण मुलुक सङ्कटबाट जोगियो,” अर्थमन्त्री शर्माले भन्नुभयो ।
जुम्लामा पचास करोडको स्याउ उत्पादन
यस वर्ष जुम्लामा करिब ५० करोड रुपियाँको स्याउ उत्पादन भएको छ । एक नगरपालिकासहित सातवटा गाउँपालिका रहेको जुम्लामा यस वर्ष स्याउको उत्पादन राम्रो भएको हो । कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार यस वर्ष जुम्लामा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ फलेको अनुमान गर्नुभयो । अहिले जुम्लाको स्याउ निर्यातको तथ्याङ्क राख्न कालीकोट र जुम्लाको सीमामा रहेको नाग्म प्रहरी चौकी र जुम्ला विमानस्थलबाट बाहिरिने स्याउको तथ्याङ्क सङ्कलन गर्न विमानस्थल प्रहरीलाई जिम्मा दिइएको छ ।
‘अफ सिजन’मा बढे पर्यटक
सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जले ‘अफ सिजन’मा पनि पर्यटक प्रवेश शुल्कबाट ३२ लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकबाट निकुञ्जले ३२ लाख ७० हजार एक सय रुपियाँ राजस्व सङ्कलन गरेको हो । निकुञ्जका सूचना अधिकारी विष्णु रोकायका अनुसार गत असारदेखि हालसम्म एक हजार २९९ विदेशी र १७६ जना नेपाली पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । असारमा ८५७ विदेशी र १८ नेपाली, साउनमा ३२३ विदेशी र ६२ नेपाली र भदौ १५ सम्म ५७ विदेशी र १८ जना नेपालीले सगरमाथा क्षेत्रको भ्रमण गरेको निकुञ्जको तथ्याङ्क छ । सगरमाथा क्षेत्रमा वर्षको दुई सिजन चैत अन्तिमदेखि जेठसम्म र असोजदेखि
एउटै गाउँपालिकामा तेह्र जलविद्युत् आयोजना
म्याग्दीको धौलागिरि गाउँपालिकामा ठूला–साना गरी १३ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी र यसको सहायक नदी र खोलामा यी विद्युत् आयोजना निर्माण भइरहेका हुन् । ती आयोजनाको कुल उत्पादन क्षमता करिब २३८ मेगावाट छ । यस क्षेत्रमा जलविद्युत् विकासको प्रचुर सम्भावना भए पनि भौगोलिक विकटता र प्रसारण लाइन नहुँदा अपेक्षाअनुसार आयोजना अगाडि बढ्न सकेको थिएन । पछिल्ला केही वर्षयता गाउँपालिका र विद्युत् आयोजनाले सडक निर्माण गरेका छन् भने नेपाल विद्युत् प्राधिकरणले पनि सबस्टेसन तथा प्रसारण लाइन निर्माण थालेको छ । यसले गर्दा लगानीकर्ता आयोजना निर्माणमा सक्रिय भएका हुन् ।
गोठेमल छोडेर रासायनिकतर्फ किसान
विगतका वर्षको तुलनामा पाल्पामा रासायनिक मलको प्रयोग बढेको छ । यसअघि गोठेमल र अन्य प्राङ्गारिक मलको प्रयोग गर्दै आएका किसानले अहिले रासायनिक मलको प्रयोग बढाएका हुन् । पाँच–सात वर्षअघिसम्म अधिकांश किसानले मकै, गहुँ तथा अन्य तरकारी खेतीमा प्रयोग गर्न गोबर र पातपतिङ्गरबाट मल बनाउँदै आएका थिए । अहिले सबैजसो किसानले रासायनिक मलको प्रयोग बढाएको बगनासकाली–३, शिखरका किसान कमल चिदीले बताउनुभयो । “पहिले हरेक घरमा तीन÷चारवटा गाईबस्तु हुन्थ्यो, अहिले सबैजसोको घरमा पशुपालन नै हुँदैन,” उहाँले भन्नुभयो ।
इजरायलमा श्रमिक पठाउन सफलता
केयरगिभरमा छनोट भएकामध्ये ८६२ नेपाली इजरायल प्रवेश गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आउने आइतबार थप १४० इजरायल गएसँगै इजरायल प्रवेश गर्नेको सङ्ख्या एक हजार दुई जना नेपाली पुग्ने छन् । इजरायलमा सहायक श्रमिकका रूपमा पठाउने कार्यमा सफलता प्राप्त गरेको विभागको दाबी छ । अब बाँकी रहेका युवासमेत छिट्टै जाने तयारी रहेको बताइएको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताबमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिकका रूपमा काम गर्न छनोट भएका एक हजार १७५ जनामध्ये करार सम्झौता (एसईसी) सम्पन्न भए पनि विभिन्न कारणले छ महिना रोकिएको थियो । विगत दुई महिनामा आठ सय नेपाली युवा इजरायल प्रवेश गरिसकेका छन् ।
भरिँदै भैरहवा सेज
भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । यहाँ रहेका सबै ६८ वटै प्लटमा उद्योग स्थापना गर्न उद्योगीले सम्झौता गरेका छन् । सेजभित्र हाल सञ्चालन भइरहेका सातवटा उद्योगले १८ वटा प्लट उपयोग गरिरहेका छन् । बाँकी ५० वटा प्लटमा उद्योग स्थापनाका लागि आवेदन माग गरिएकोमा २६ उद्योग स्थापनाका लागि ५५ वटा प्लटका लागि आवेदन परेका हुन् ।
साना उद्योग प्रवर्द्धनका लागि समझदारी
लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । शुक्रबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्रबीच सम्झौता भएको हो । लघु, घरेलु तथा साना उद्यम विकास गर्न आवश्यक पर्ने प्रविधि अध्ययन, अनुसन्धान र विकासका लागि काम गर्नेगरी समझदारी भएको हो । प्रवद्र्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रका तर्फबाट अध्यक्ष महावीर पुनले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
छैन चिनी सस्तियो खानेतेल
सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको जेठ २४ गते चिनी खरिदका लागि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद प्रक्रिया अगाडि बढ्न नसकेको हो । अर्थ मन्त्रालयले चिनी खरिद स्वीकृति मागको फाइल मन्त्रालयमा आए पनि खरिदको विषयमा अहिलेसम्म कुनै छलफल नभएको दाबी गरेको छ । मन्त्रालयका सूचना अधिकारी कमलकुमार भट्टराईले चिनी खरिदको फाइल आएको छ तर यसको प्रक्रिया अहिलेसम्म अगाडि बढेको जानकारी छैन भन्नुभयो ।
असोज १ देखि सुपथ मूल्य पसल सञ्चालन हुने
चाडपर्वलाई लक्षित गरेर सुपथ पसल आगामी असोज १ गतेदेखि सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेसन र दुग्ध विकास संस्थान (डीडीसी)ले संयुक्त रूपमा चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । उपत्यकासँगै बाहिरी जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालन गरिने बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गरिएको जानकारी दिनुभयो । सुपथ मूल्य पसलमा उपभोक्ताले छुट पाउने उहाँले जानकारी दिनुभयो ।
बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि कम्पनी दर्ता
बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पब्लिक लिमिटेड कम्पनी दर्ता भएको छ। कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा शुक्रबार दर्ता भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको हो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशययुक्त आयोजना कम्पनी मोडलमा निर्माण गर्न सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै घोषणा गरिएको थियो। गत असार १४ गते सरकारले कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो।
काम थाल्दै रोमानियन मिसन
वैदेशिक रोजगार कार्यालय परिसरमा रहेको रोमानियन मिसन (घुम्ती सेवा)मा आउँदो सातादेखि रोमानियाको टोली आएर काम सुरु गर्ने जनाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उद्देश्यले गएको बिहीबार स्थापना गरिएको यो मिसनमा रोमानियाको टोलीले आउँदो सातादेखि सेवा सुरु गर्ने भएको हो ।
गाउँगाउँमा बीमा विस्तार गर्न आग्रह
अर्थमन्त्री जनार्दन शर्माले बीमाको सेवालाई गाउँगाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । बिहीबार सुर्खेतमा बीमा समितिको कर्णाली प्रादेशिक कार्यालय उद्घाटन गर्दै उहाँले कर्णालीका अधिकांश जनता बीमाको सेवाबाट वञ्चित रहेको बताउँदै सबैको पहुँच हुने गरी बीमा सेवा विस्तार गर्न निर्देशन दिनुभयो । उहाँले बीमा सेवा सहरबजारमा सीमित नभई गाउँगाउँसम्म पु-याउनुपर्ने बताउनुभयो ।
चिया क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता
चिया क्षेत्रमा देखिएका समस्याको दिगो समाधान गर्न प्रदेश सरकारका मन्त्री र सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । संवाद समूह प्रदेश १ को आयोजनामा बिहीबार बिर्तामोडमा भएको छलफलमा उहाँहरूले चिया क्षेत्रका समस्याको दिगो समाधान गर्न प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउने र समस्या समाधानको जिम्मेवारी लिने बताउनुभएको हो । सो भेलाबाट चिया समस्याका लागि सातबुँदे साझा प्रतिबद्धता सार्वजनिक गरिएको छ । प्रदेश १ का कृषिमन्त्री झलकबहादुर मगर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सराबगी, सांसद जसमाया गजमेरलगायतले प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्दै चिया खेतीमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
इन्नोभेसनमा सनराइज अगाडि
सनराइज बैङ्कले भिसा इन्टरनेसनलबाट ‘एक्सलेन्स इन प्रोडक्ट इन्नोभेसन, २०२२’ प्राप्त गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा बैङ्कका नायब महाप्रबन्धक रविनकुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको थियो । सनराइज बैङ्कले सहकारी सदस्यलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नवीनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको सो बैङ्कले जनाएको छ । बैङ्कले समयसापेक्ष रूपमा प्रविधियुक्त सेवा सुविधासमेत दिँदै आएको छ, जसमा कार्डलेस विथड्रल ट्याप एन्ड पे, आफ्नै फोटो राख्ने डेबिट कार्ड, अनलाइन खाता खोल्नेजस्ता छन् ।
एनसेललाई ‘फास्ट नेटवर्क’ अवार्ड
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले ‘फास्ट मोबाइल नेटवर्क’ अवार्ड प्राप्त गरेको छ । मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी उक्लाले जनवरी–जुन २०२२ का लागि एनसेललाई उक्त अवार्ड प्रदान गरेको हो । मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको ‘स्पिड स्कोर’ यो सम्मान प्राप्त भएको एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
९३ प्रतिशत जनतामा पुग्यो बिजुली
नेपालको कुल जनसङ्ख्याको झन्डै ९३ प्रतिशतले विद्युत् उपभोग गर्न पाएका छन् । नेपाल विद्युत् प्राधिकरणले सबै स्थानीय तहका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको प्रतिवेदनले कुल जनसङ्ख्याको ९२.५१ प्रतिशतमा विद्युत्को पहुँच पुगेको देखाएको हो । नेपाल विद्युत् प्राधिकरणले बिहीबार सार्वजनिक गरेको नेपाल विद्युतीकरण तथ्याङ्क २०७७ अनुसार मधेश प्रदेशमा लगभग सबै जनसङ्ख्याले विद्युत् उपभोग गर्न पाएका छन् भने सबभन्दा कम कर्णाली प्रदेशको ५६.७९ प्रतिशत र सुदूरपश्चिमको ७८.८५ प्रतिशत जनसङ्ख्यामा मात्रै विद्युत् पहुँच पुगेको छ । विद्युत्को पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट रहेको छ ।
नेपालको ऋण २० खर्ब नाघ्यो
नेपालको सार्वजनिक ऋणको आकार पनि निरन्तर उकालो लागिरहेको छ । गत एक वर्षमै करिब तीन खर्ब रुपियाँ ऋणको भार थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब रुपियाँ नाघेको छ, जसमध्ये बाह्य ऋण १० खर्ब २५ करोड रुपियाँ र आन्तरिक ऋण नौ खर्ब ८६ करोड रुपियाँ रहेको छ ।
फनपार्कले काठमाडौं महानगरलाई बुझायो १७ लाख ३६ हजार कर
काठमाडौं महानगरलाई भृकुटीमण्डपमा रहेको फनपार्कले १७ लाख बढी कर तिरेको छ । महानगरले बुधबार दिएको २४ घण्टे अल्टिमेटमपछि बिहीबार फनपार्कले १७ लाख ३६ हजार कर बुझाएको हो।
नेपालको बिजुली क्षेत्रीय बजारमा पुग्ने वातावरण बनेको छ : उपमहासचिव पुन
काठमाडौं, भदौ १६ गते। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि क्रमशः वातावरण बन्दै गएको बताउनुभएको छ। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको छलफलमा उहाँले नेपालको बिजुली क्षेत्रीय बजारमा पुग्ने वातावरण बनेको बताउनुभयो।विद्युतको बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउने तयारी भइरहेको उहाँको भनाइ थियो। सानो मात्रामा भारतको बजार खुलेको जानकारी दिँदै उहाँले निकट भविष्यमा नै बङ्गलादेशको बजारसमेत नेपालका लागि प्रशस्त हुने विश्वास व्यक्त गर्नुभयो।उहाँले भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी मल्लिाकार्जुन राव (जिएमआर) ले उत्पादन गर्ने मध्येको पाँच सय मेगावाट बराबरको बिजुली बङ्गलादेश पुगेको खण्डमा त्यसले नेपालको थप बिजुली लैजानका लागि समेत मार्ग खुल्ने बताउनुभयो। जिएमआरको म्याद पटक–पटक किन थपिएको भनेर प्रश्न पनि उठ्ने गरेको उल्लेख गर्दै उहाँले बङ्गलादेशको बजार खुल्ने विश्वासका साथ सरकारले दीर्घकालीन हित हेरेर निर्णय गरेको बताउनुभयो।विश्वव्यापी बोलपत्रका माध्यमबाट जिएमआरले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी पाएको हो। आयोजनाको म्याद पटक–पटक थप भए पनि थप प्रगति हुन सकेको छैन। पछिल्लो पटक पनि सरकारले थप दुई वर्ष म्याद थप गरेको छ। जिएमआरले पाँच सय मेगावाट बिजुली बङ्गलादेश निर्यातका लागि विद्युत् खरिद सम्झौताको तयारी भइरहेको जनाएको छ। उपमहासचिव पुनले भारतको अर्को कम्पनी सतलजले निर्माण गरिरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाले पनि विद्युत् निकासीका लागि थप वातावरण बनाउने भएकाले सरकारले दीर्घकालीन हितका साथ काम गरिरहेको बताउनुभयो।सो कम्पनीले पनि बिजुली निर्यातका लागि पूर्वाधार निर्माण गरिरहेको छ। ती आयोजनाको बिजुली भारत निर्यात हुन थालेपछि नेपाल सरकारले पनि आफ्नातर्फबाट कुरा गर्न थप सहज हुने र बहसका लागि समेत सहज हुने उपमहासचिव पुनको भनाइ छ। “भारतीय कम्पनीको लिने, हाम्रो किन नलिने भन्ने प्रश्न उठछ। त्यसबाट हामीलाई फाइदा हुन्छ”, उहाँले भन्नुभयो। हाल नेपाल विद्युत् प्राधिकरणले तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात गरिरहेको सन्दर्भ जोड्दै पूर्वऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहनुभएका उपमहासचिव पुनले निजी क्षेत्रलाई पनि बिजुली व्यापारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताउनुभयो।उहाँले बङ्गलादेशले सन् २०४० सम्म नौ हजार मेगावाट बराबरको बिजुली लैजाने सहमति गरेको उल्लेख गर्नुभयो। नेपालमा उत्पादित बिजुली आन्तरिक खपतका लागि नै प्रयोग गरिने उहाँको भनाइ छ। व्यापार घाटा घटाउन तथा पेट्रोलियम पदार्थको खपत घटाउनका लागि विद्युतीय सवारी साधनको प्रयोग नै उपयुक्त भएको उहाँको भनाइ छ।यस्तै, प्राकृतिक स्रोतको अधिकतम उपभोग गर्ने लक्ष्यका साथ सरकारले जलविद्युत् आयोजनामा पूर्ण क्षमताअनुसार विकास गर्ने कार्य ‘क्यू’ को क्षमतालाई घटाइएको उहाँको भनाइ छ। वर्षायामको बिजुलीको बजार उपलब्ध हुने अवस्था देखिएपछि कानूनी प्रबन्धमा सुधार भएको पूर्वमन्त्री पुनको भनाइ छ। रासस
मधेस प्रदेशमा बढी र कर्णालीमा सबैभन्दा कम विद्युतीकरण
नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन ।
चार हजारलाई बिनाधितो कर्जा
सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश स्वरोजगार कोषले चालू आर्थिक वर्षमा चार हजार युवालाई उद्योग व्यवसाय सुरु गर्न सहुलियत ब्याजदरमा कर्जा दिने भएको छ । कोषका अनुसार ‘सरकारको मुख्य ध्यान : घरघरमा स्वरोजगार अभियान’अन्तर्गत पाँच सय जनालाई सीपमूलक तालिम तथा चार हजारलाई सहकारीमार्फत सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरिन लागेको हो ।
प्रिपेड डलर कार्ड लिने अठतीस हजार नाघे
विदेशमा भुक्तानी गर्नुपर्ने अमेरिकी डलर भुक्तानी सहजताका लागि हालसम्म ३८ हजार ६६ जनाले प्रिपेड डलर कार्ड लिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । २०७७ चैत ८ गते केन्द्रीय बैङ्कले निर्देशन जारी गर्दै ‘क’ र ‘ख’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले यस्तो कार्ड जारी गर्न अनुमति दिएको थियो । यस्तो कार्डमार्फत वार्षिक पाँच सय अमेरिकी डलरसम्म भुक्तान गर्न सकिन्छ ।
साँघुरिँदै जुट खेती
एक दशकयता तराई क्षेत्रमा प्रमुख नगदे बालीका रूपमा लगाइने जुट खेती क्रमिक रूपमा घट्दै आएको छ । उन्नत जातको बीउ, मल, सिँचाइ र कामदारको अभाव अनि तयारी गर्ने बेलामा पानीको समस्या भएकाले प्रत्येक वर्ष जुट खेती लगाउने क्रम घटेको हो । तयारी जुट बेच्न समस्या र उचित मूल्य नपाउने समस्याले पनि किसान जुट खेतीबाट विमुख हुन थालेका हुन् । कृषि ज्ञान केन्द्र, सुनसरीका प्रमुख नीलकमल सिंहले खेतीका बेला विभिन्न समस्या हुने र उत्पादन भएको जुटले मूल्य नपाउने समस्याले सुनसरीका किसानले जुट खेती गर्न बिस्तारै कम गर्दै आएको बताउनुभयो ।