• १३ साउन २०८१, आइतबार

स्वदेशी कफीको खपत र निर्यात बढ्दै

blog

काठमाडौँ, मङ्सिर १७ गते । स्वदेशी कफीको खपत आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि स्वदेशी उत्पादनको निर्यात बढेको छ भने विदेशी उत्पादनको आयात पनि बढ्दै गएको छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७८/७९ मा ११ करोड ७९ लाख ८५ हजार रुपियाँ बराबरको ६९.५ मेट्रिक टन निर्यात भएकामा १२ करोड ७६ लाख ९० हजार रुपियाँ बराबरको २७९.८ मेट्रिक टन कफी आयात भएको थियो । 

आव २०७७/७८ मा नेपालबाट नौ करोड ६० लाख तीन हजार रुपियाँ बराबरको ७२.४८ मेट्रिक मेट्रिक टन निर्यात भएको १० करोड ६७ लाख २१ हजार रुपियाँ बराबरको १९८ मेट्रिक टन कफी आयात भएको थियो । 

यस्तै आव २०७६/७७ मा पाँच करोड ७७ लाख २८ हजार रुपियाँ बराबरको ४६.८९ मेट्रिक टन निर्यात भएकामा ११ करोड आठ लाख ४९ हजार रुपियाँ बराबरको २६६ मेट्रिक टन कफी आयात भएको बोर्डले जनाएको छ । नेपालमा कफीको आयात निर्यात दुवै बढेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । 

बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय बजारमा स्वदेशी कफीको माग बढेकाले निर्यात बढ्दै गएको जानकारी दिनुभयो । अन्य देशको तुलनामा स्वदेशी उत्पादन उच्च गुणस्तरको भएकाले माग बढेकाले  बर्सेनि निर्यातमा वृद्धि भएको उहाँले बताउनुभयो ।

नेपाली उत्पादन कोरिया, जापान, अमेरिका, युरोपेली मुलुकलगायत देशमा निर्यात हुने गर्छ भने अस्ट्रेलिया, चीन, इथियोपिया, हङकङ, भारत, कोरिया, कतारलगायत देशबाट कफीको आयात हुने गर्छ । 

क्षेत्रफल बढे पनि उत्पादन बढेन

कफी खेती गर्ने क्षेत्रफल बढ्दै गए पनि उत्पादनमा भने त्यसअनुरूप बढेको छैन । बोर्डका अनुसार आव २०७५/७६ मा दुई हजार ७६१ हेक्टर क्षेत्रफलमा कफी खेती गरिँदै आएकामा आव २०७८/७९ मा बढेर तीन हजार ३४३ हेक्टर पुगेको छ । 

आव २०७५/७६ मा ५३० मेट्रिक टन कफी उत्पादन भएकामा आव २०७८/७९ मा घटेर ३५५ मेट्रिक टन उत्पादन भएको बोर्डको तथ्याङ्क छ । 

यस्तै आव २०७६/७७ मा दुई हजार ३६० हेक्टर क्षेत्रफलमा कफी खेती भएकामा आव २०७७/७८ मा खेती गरिएको जमिन बढेर तीन हजार ५२ हेक्टर पुगेको छ । आव २०७६/७७ मा २९७ मेट्रिक टन कफी उत्पादन भएकामा आव २०७७/७८ मा १३५ मेट्रिक टन उत्पादन भएको बोर्डको तथ्याङ्क छ । 

कफीको नयाँ मूल्य निर्धारण

बोर्डले मङ्सिर १ देखि लागू हुने गरी कफीको नयाँ मूल्य निर्धारण गरेको छ । नयाँ मूल्यअनुसार फ्रेस चेरी कफीको मूल्य प्रतिकेजी ९५ रुपियाँ निर्धारण गरिएको छ । 

यस्तै ग्रेड ‘बी’ कफीको मूल्य प्रतिकेजी ८५ रुपियाँ, पार्चमिन्ट कफी ग्रेड ‘ए’को प्रतिकेजी ४७५ रुपियाँ निर्धारण गरिएको छ । पार्चमिन्ट ग्रेड ‘बी ’को ४२० रुपियाँ मूल्य निर्धारण गरिएको छ । यस्तै ड्राइ चेरी कफी ग्रेड ‘ए’को १७० रुपियाँ र ग्रेड ‘बी’को ११५ रुपियाँ मूल्य निर्धारण गरिएको विभागले जनाएको छ । 

यसैबीच १८औँ  कफी दिवस विभिन्न कार्यक्रमका साथ शुक्रबार मनाइएको छ । प्रत्येक वर्ष मङ्सिर १ मा कफी दिवस मनाउँदै आएकामा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको आचारसंहिताले स्थगन भई शुक्रबार विभिन्न कार्यक्रम गरेर दिवस मनाइएको हो । ‘व्यावसायिक कफी खेतीमा जोड, गुणस्तरीय उत्पादनमा हाम्रो अठोट’ भन्ने मूल नाराका साथ कफी दिवस मनाइएको हो ।