• २८ असोज २०८२, मङ्गलबार

छ वटा कार्यालयले गर्दै छन् क्षतिको विवरण सङ्कलन

blog

भदौ २४ को आन्दोलनका क्रममा गरिएको आगजनीपछि छोपिएको सिंहदरबार । फाइल तस्बिर

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २८ गते । जेनजी आन्दोलनका क्रममा सरकारी भवनमा भएको क्षतिको विवरण सङ्कलन गर्ने जिम्मेवारी विभिन्न छ वटा कार्यालयलाई दिइएको छ । सहरी विकास मन्त्रालयले सरकारी भवनको क्षतिको विवरण सङ्कलन गर्न विभिन्न छ वटा निकायलाई जिम्मा दिएको हो ।  

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा गरिएको आगजनीमा धेरै सरकारी कार्यालयमा क्षति पुगेको छ । 

सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले सङ्घीय अन्तर्गतका कार्यालयको क्षतिको विवरण सङ्कलन गर्न छ वटा कार्यालयलाई जिम्मा दिइएको जानकारी दिनुभयो । आगजनीबाट कार्यालयमा भएको क्षति र कसरी पुनर्निर्माण गर्न सकिन्छ भनेर अध्ययन गर्नका लागि दुई महिनाको समय निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । 

सरकारी भवनको क्षतिको विवरण सङ्कलनका लागि नेपाल विद्युत् प्राधिकरण, पुल्चोक इन्जिनियरिङ क्याम्पस र चेस्को कम्पनी (चिलिमे हाइड्रो) स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ इन्जिनियरिङ काठमाडौँ विश्वविद्यालय र काठमाडौँ महानगरपालिकालाई क्षतिको विवरण सङ्कलन गर्न जिम्मा दिइएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सङ्घीय सरकार अन्तर्गत हाल ३८० वटा भवन क्षति भएका छन् । तीमध्ये १०५ भवन पूर्ण रूपमा क्षतिग्रस्त, १८२ भवन आंशिक क्षति भएका र ९३ भवन सामान्य क्षति भएका छन् ।  नेपाल विद्युत् प्राधिकरणलाई २६ वटा कार्यालयको क्षतिको विवरण सङ्कलन गर्न जिम्मा दिइएको छ । 

यस्तै पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई ३३ वटा र चेस्को आयोजनालाई २३ वटा भवनको लगत सङ्कलन गर्न जिम्मा दिइएको मन्त्रालयले जनाएको छ । स्कुल अफ इन्जिनियरिङ, काठमाडौँ विश्वविद्यालयलाई १२ वटा र काठमाडौँ महागरपालिकालाई सात वटा भवनको जिम्मा दिइएको छ । 

आगजनीमा प्रदेश र स्थानीय निकायका कार्यालयमा समेत क्षति भएको छ । यसको विवरण भने अझै सङ्कलन गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । 

यसैबिच सहरी विकास मन्त्रालय र सडक विभागले जेनजी आन्दोलनमा आगलागीबाट जलेका सवारीसाधन बानेश्वरको संसद् भवनमा राखेका छन् । मन्त्रालयले सिंहदरबारभित्र जलेका ३९६ वटा सवारीसाधन उठाएर राखिएको जनाएको छ । 

यस्तै सडक विभाग अन्तर्गत हेभी इक्विपमेन्ट डिभिजन कार्यालयले पाँच सय वटा गाडी उठाएर व्यवस्थापन गरेको जनाएको छ । कार्यालयका इन्जिनियर प्रदीप श्रेष्ठले जलेका पाँच सय गाडी व्यवस्थापन गरिएको र बाँकी व्यवस्थापनकै क्रममा रहेको जानकारी दिनुभयो । आगजनीबाट उपत्यकामा एक हजारको सङ्ख्या सवारीसाधन जलेको बताइएको छ ।