• २१ वैशाख २०८३, सोमबार

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

blog

कार्यक्रममा उपस्थित सरोकारवालाहरू । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङलिङ, वैशाख २१ गते ।
राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा बालबालिकामाथिको हुने ट्रोलिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । आयोगकी प्रवक्ता कृष्णकुमारी पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले शपथका क्रममा बोकेको छोरीको फोटो ट्रोलिङ गरिएको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको बताउनुभयो ।

आइतबार ताप्लेजुङमा आयोजित महिला सवालमा सरोकारवालासँगको छलफल कार्यक्रममा बोल्दै उहाँले अबोध बालिकामाथि गरिएको यस्तो व्यवहार बालअधिकार र मानवअधिकार दुवैको उल्लङ्घन भएको उल्लेख गर्नुभयो । उहाँले बालबालिकालाई सामाजिक सञ्जालमा लक्षित गरी गरिने टिप्पणी र ट्रोलिङले उनीहरूको मानसिक विकासमा नकारात्मक असर पार्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

साथै, समाजमा पुरुष विवादमा परेपछि महिलाले नै संरक्षण गर्नुपर्ने गलत सोच अझै विद्यमान रहेको भन्दै यसलाई परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा लैङ्गिक समानताको विषय पनि उठाइएको थियो । पौडेलले संविधान निर्माण प्रक्रियामा महिलाको पर्याप्त सहभागिता नभएको दाबी गर्दै कम्तीमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न आयोग निरन्तर सङ्घर्षरत रहेको जानकारी दिनुभयो । हालको ३३ प्रतिशत आरक्षण पर्याप्त नभएको उहाँको भनाइ थियो ।

लैङ्गिक हिंसा अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले विद्यालय, समुदाय र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो । फुङलिङ क्षेत्रमा सुरक्षित ‘सेभ हाउस’ (संरक्षण केन्द्र) र महिला कारागारको आवश्यकता रहेको भन्दै आयोगले यसबारे सम्बन्धित निकायमा सिफारिस गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा फुङलिङ नगरपालिकाकी उपप्रमुख भिमादेवी ओझाले सेभ हाउसको आधारभूत संरचना तयार भइसके पनि पूर्णता दिन बाँकी रहेको जानकारी दिँदै सहयोगका लागि आग्रह गरिन् । यसैबिचच, स्वास्थ्य तथा सुरक्षा निकायले जिल्लामा पछिल्ला वर्षहरूमा लैङ्गिक हिंसाका घटनामा उतारचढाव देखिएको जानकारी दिएका छन् ।