• २१ वैशाख २०८३, सोमबार

गलकोटमा सामाजिक सञ्जालविरुद्ध स्थानीयको आन्दोलन

blog

गलकोट नगरपालिका वडा नम्बर ४ हरिचौर प्रहरी कार्यालय अगाडि आन्दोलित स्थानीयहरु । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) वैशाख २१ गते ।
जिल्लाकोे गलकोट नगरपालिकामा सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री फैलाएको आरोप लगाउँदै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । गलकोट–५ स्थित हरिचौर प्रहरी कार्यालयमा स्थानीयले प्लेकार्डसहित उपस्थित भएर उजुरी दिएका हुन् ।

‘हाम्रो गलकोट’ र ‘गलकोटका सचेत युवा’ नामक फेसबुक पेजहरूले समाजमा भ्रम फैलाएको, सामाजिक विभाजन बढाएको तथा प्रमाणबिनै विभिन्न व्यक्ति र संस्थाविरुद्ध सामग्री प्रकाशन गरेको आरोप स्थानीयले लगाएका छन् । ती पेजमाथि आवश्यक कानुनी कारबाहीको माग गर्दै स्थानीयले प्रहरीसमक्ष निवेदन दिएका हुन् ।

स्थानीयवासी विष्णु काउचालले सामाजिक सञ्जालको दुरुपयोग रोक्न गलकोटमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै सबैलाई जिम्मेवार र सकारात्मक बन्न आग्रह गर्नुभएको थियोे ।

बागलुङका प्रहरी प्रमुख तिलक भारतीका अनुसार उक्त फेसबुक पेजविरुद्ध उजुरी प्राप्त भएको छ र विषयमा अनुसन्धान अघि बढाइएको छ । “पेजहरू कहाँबाट सञ्चालन भइरहेका छन् भन्ने पत्ता लगाउने प्रयास भइरहेको छ, प्रमाणबिनै सामाजिक सञ्जालमा सामग्री लेख्दा समाजमा नकारात्मक असर पर्छ,” उहाँले भन्नुभयो ।

आवश्यक परे साइबर ब्यूरोसँग समन्वय गरेर थप अनुसन्धान गरिने पनि उहाँले जानकारी दिनुभयो ।

उजुरीमा ती फेसबुक पेजहरूले गलत नियतका साथ विभिन्न व्यक्ति तथा संस्थालाई लक्षित गरी भ्रामक र तथ्यहीन सामग्री प्रकाशन गरेको उल्लेख गरिएको छ । यस्ता गतिविधिले समाजमा असमझदारी र विभाजन बढाएको तथा सार्वजनिक सेवामा समेत असर पारेको स्थानीयको भनाइ छ ।

यता ‘हाम्रो गलकोट’ फेसबुक पेजले भने गलकोट नगर अस्पतालमा भइरहेको आर्थिक अनियमितता, सरकारी जग्गा कब्जा, ढुंगा–गिट्टी–बालुवाको अवैध दोहन तथा बजेट दुरुपयोगजस्ता विषयमा आवाज उठाएको दाबी गरेको छ । आफूहरूले उठाएका मुद्दा जनचासोका विषय भएको भन्दै आन्दोलनको औचित्यमाथि प्रश्न उठाएको छ । प्रहरीले दुवै पक्षका दाबीलाई ध्यानमा राख्दै निष्पक्ष अनुसन्धान गर्ने जनाएको छ ।