सिँजा समाचारदाता
सिँजा (जुम्ला), असोज २८ गते । जुम्लाबाट यस वर्ष करिब ३३ करोड सात लाख ५० हजार रुपियाँ बराबरको स्याउ बाहिरी जिल्लामा बिक्री भएको छ । जिल्लाका किसानले गाला, किङरेड, फुजीलगायत जातका स्याउ उत्पादन गरेका छन् ।
जुम्लाबाट करिब चार हजार ७२५ मेट्रिक टन स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाइएको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्ममा उक्त परिमाणमा स्याउ बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो । अझै ग्रामीण भेगको स्याउ र फुजी स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाउने काम भइरहेको छ । आगामी मङ्सिरको दोस्रो सातासम्म उत्पादित स्याउको परिमाण र बाहिर पठाइएको यकिन परिमाण प्राप्त हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा केही कमी आउने अनुमान गरिएको छ । कार्यालय प्रमुख अधिकारीका अनुसार करिब ३३ करोड सात लाख ५० हजार रुपियाँ बराबरको स्याउ बाहिरी जिल्लामा पठाइएको छ ।
पछिल्लो समय स्याउ खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । यहाँका आठ वटै स्थानीय तहका २४ हजार ८३८ घरधुरीमध्ये १९ हजार २५८ घरधुरी अर्थात् ७०.५ प्रतिशत घरपरिवार स्याउ खेतीमा संलग्न छन् । प्रत्येक परिवारले एक सिजनमा कम्तीमा ४५ हजारदेखि बढीमा एक लाख रुपियाँसम्म स्याउ बिक्रीबाट आम्दानी गर्ने गरेका छन् । किसानको बगैँचामै प्रतिकिलो ७५ रुपियाँ बढी मूल्यमा बिक्री भएको तिला गाउँपालिका–१, राराका स्याउ व्यापारी रावतले जानकारी दिनुभयो । कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार यस वर्ष जुम्लामा १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । यो उत्पादन विगत दुई वर्षयताकै कम हो ।
जम्मा उत्पादितमध्ये ७० हजार मेट्रिक टन स्याउ बिक्री भइसकेको छ । जुम्लामा कुल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर छ । त्यसमध्ये स्याउ खेती गरिएको क्षेत्रफल आव २०८१/८२ मा चार हजार ३२५ हेक्टर रहेकामा चालु आवमा बढेर चार हजार ४४५ हेक्टर पुगेकामा दुई हजार १२५ हेक्टरमा मात्रै स्याउ फलेको जनाइएको छ । जिल्लामा हाल उत्पादित स्याउका जातमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड र जनाधन छन् । हाल उत्पादित उन्नत जातमध्ये फुजी गाला, इटालियन जातको स्याउ खेती भइरहेको छ । जुम्लाको स्याउ कर्णाली प्रदेशको प्रमुख नगदे बाली मानिन्छ । हरेक वर्ष यहाँको स्याउ सुर्खेत, नेपालगन्ज, दाङ, काठमाडौँलगायतका सहरमा पठाइने गरिन्छ ।