काठमाडौँ, भदौ २६ गते । पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र खाद्यान्न जस्ता अत्यावश्यक र दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त रहेको सम्बन्धित संस्थाले जनाएका छन् । जेन जी पुस्ताले गरेको आन्दोलनका कारण आपूर्ति व्यवस्था बन्द भए पनि सरकारी र निजी क्षेत्रसँग खाद्यान्न मौज्दात दसैँसम्मका लागि रहेको जनाइएको छ ।
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ लिमिटेड र नेपाल आयल निगमसँग पर्याप्त मात्रामा खाद्यान्न र पेट्रोलियम पदार्थको मौज्दात रहेको छ । जेन जी आन्दोलनले उग्र रूप लिएपछि सोमबारदेखि लगाइएको कफ्र्यु बिहीबार बिहानसम्म रहने छ । यसै कारणले गर्दा पनि आपूर्ति व्यवस्था ठप्प छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी माधव मिश्रले कम्पनीसँग तीन लाख क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी दिनुभयो । कम्पनीका सबै डिपो कार्यालयका गोदाममा खाद्यान्न मौज्दात रहेकाले आवश्यक परेको ठाउँमा तत्काल पठाउन सकिने उहाँले जानकारी दिनुभयो ।
कम्पनीको लहान डिपोमा रहेको खाद्यान्न भने मङ्गलबार लुटपाट भएको छ । साढे आठ हजार क्विन्टल चामल, तीन हजार दुई क्विन्टल चिनी र ५३ क्विन्टल धान लुटपाट भएको कम्पनी लहान शाखाले जनाएको छ । लहान शाखा कार्यालयका सूचना अधिकारी अनिलकुमार महतोले प्रदर्शनकारीसँगै आएका व्यक्तिले खाद्यान्न लुटेर कार्यालयसमेत जलाएको जानकारी दिनुभयो ।
साल्ट्र टे«डिङ कर्पाेरेसनले चामल र नुनलगायतका खाद्यान्न पर्याप्त मात्रामा मौज्दात रहेको जनाएको छ । कर्पोरेसनका प्रवक्ता कुमारराज राजभण्डारीका अनुसार दसैँसम्म पुग्ने गरी पाँच हजार मेट्रिक टन चामल, एक लाख १० हजार मेट्रिक टन नुन र तीन हजार मेट्रिक टन चिनी रहेको छ ।
निजी व्यवसायीसँग पनि पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य देवेन्द्रभक्त श्रेष्ठले एक महिनालाई पुग्ने दाल, चामल, तेललगायतका खाद्यान्न मौज्दात रहेकाले अभाव नहुने जानकारी दिनुभयो । दुई महिनापछि बजारमा नयाँ उत्पादन आउने भएकाले पनि तत्काल खाद्यान्नको मूल्य नबढ्ने उहाँले जानकारी दिनुभयो ।
नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्रमान वज्राचार्यले पनि दसैँसम्म पुग्ने खाद्यान्न मौज्दात रहेको जानकारी दिनुभयो ।
यस्तै नेपाल आयल निगमले पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको मौज्दात रहेकाले अभाव नहुने जानकारी दिएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले एक सातादेखि १० दिनलाई पुग्ने इन्धन मौज्दात रहेकाले इन्धन अभाव नहुने बताउनुभयो ।
“आन्दोलनका कारण बजारमा सवारीसाधन नचल्दा इन्धन खपत भएको छैन,” उहाँले भन्नुभयो, “स्थानीय निकायको समन्वयमा प्रहरी प्रशासनलाई निगमको डिपो कार्यालयबाट इन्धन वितरण भइरहेको छ ।” डिपोमा सुरक्षाको प्रत्याभूति भए डिपोबाट इन्धन वितरण गर्न सकिने निगमले जनाएको छ । निगमको थानकोट, अमलेखगन्ज, नेपालगन्ज डिपोमा इन्धन मौज्दात पूर्ण रहेको निगमले जनाएको छ ।
मङ्गलबारदेखि कफ्र्यु लागेपछि सवारीसाधन आवतजावत नहुँदा इन्धन खपतसमेत हुन सकेको छैन । प्रदर्शनकारीले निगमको टेकु कार्यालय जलाएका छन् । बबरमहलमा रहेको नयाँ कार्यालयमा सामान्य तोडफोड गरी आगो लगाए पनि आफैँ फायरफाटिङ प्रयोग गरी आगो निभाउन सफल भएकाले ठुलो क्षति हुन नपाएको निगमले जनाएको छ ।
राष्ट्रिय पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पम्पलाई बन्द गर्न नभनिए पनि सुरक्षाका दृष्टिले केही खुला र केही बन्द रहेको जानकारी दिनुभयो । स्वतःस्फूर्त पम्प खोलेर अत्यावश्यक सेवालाई इन्धन वितरण भइरहेको तर बैङ्क बन्द भएकाले इन्धन बिक्री गरेको रकम सुरक्षित तरिकाले राख्न समस्या परेको उहाँले बताउनुभयो ।
यस्तै खाना पकाउने एलपी ग्याससमेत पर्याप्त मात्रमा मौज्दात रहेको ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताउनुभयो ।