• १३ साउन २०८१, आइतबार

पेट्रोलियम पदार्थको मूल्य नघट्ने

blog

काठमाडौं, मङ्सिर १७ गते । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ ।

यही मङ्सिर १५ गते इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको घटेको मूल्य सूची पठाएको छ ।इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले मूल्य घटेर आए पनि तत्काल पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना नरहेको बताउनुभयो ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलमा २.३८ रुपियाँ, डिजेलमा ११ रुपियाँ, मट्टितेलमा ८० पैसा र हवाई इन्धनमा ७ रुपियाँ घटेर आएको उपाध्यायले बताउनुभयो । तर, एलपी ग्याँसमा भने प्रतिसिलिण्डर २४४ रुपियाँ बढेर आएको छ ।

प्रवक्ता उपाध्यायका अनुसार निगमलाई ५८ करोड रुपियाँ नाफा भएको छ । तर, निगमले इन्डियन आयल कर्पोरेसनलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब २७ अर्ब रुपियाँ तिर्न बाँकी रहेको उहाँको भनाइ छ ।

प्रवक्ता उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा निगम सञ्चालन हुँदै आएको उल्लेख गर्नुभयो ।