• २६ वैशाख २०८१, बुधबार

भिडियो कुराकानी

केराको थामबाट कपडा

blog

काठमाडौं, मङ्सिर १७ गते। विगत १५ वर्षदेखि प्राकृतिक स्रोतको प्रयोगबाट विभिन्न उपयोगी सामान बनाउँदै आउनुभएका नेपाल हस्तकला महासङ्घका उपाध्यक्ष र अन्नपूर्ण ह्यान्डीक्राफ्टका प्रोप्राइटर दिव्य तारा तुलाधरले केराको थामबाट कपडा बनाउन सुरु गर्नुभएको एक दशक भइसकेको छ। सानैदेखि हस्तकलामा अब्बल तुलाधरलाई प्रकृतिसँग रमाउन धेरै मनपर्छ। नेपालमा उत्पादन हुने प्राकृतिक विशेषता बोकेका सामानको प्रयोगले विभिन्न सामान बनाउन सकिने उहाँ बताउनुहुन्छ।

“तराईमा धेरै केरा पाइन्छ। केरा उत्पादनपछि थाम व्यवस्थापन गर्न सजिलो छैन। त्यसैले स्थानीय किसानबाट पाएको निःशुल्क थामबाट कपडा बनाएजस्तै उद्योगका फोहोरबाट गड्यौले मल उत्पादनसमेत हुन्छ,” उहाँले भन्नुभयो। 

विश्वका कतिपय मुलुकमा थामबाट आकर्षक कपडा डिजाइन गर्ने गरिन्छ। तर, नेपालका लागि भने आफूहरूको प्रयास नयाँ भएको तुलाधरको भनाइ छ। उहाँका अनुसार विदेशी कपडा जस्तो नेपाली उत्पादन नेपालीले नै प्रयोग गर्दैनन्। गुणस्तरीय उत्पादन नहुँदा आकर्षण नबढेको उहाँको भनाइ छ। 

उहाँ भन्नुहुन्छ, “हामी परीक्षणकै क्रममा छौँ, विभिन्न मेसिनको प्रयोग नेपालमा हुने हो भने नेपाली उत्पादन पनि राम्रो हुनसक्छ।” अहिले उद्योगमा १७ जनाले नियमित काम गर्ने गर्छन्। १० जनाले घरबाटै धागो बनाएर उद्योगमा पठाउने गर्छन्। उद्योगमा पाँच सय रुपियाँदेखि ६ सय रुपियाँसम्म प्रतिमिटरसम्मको कपडा तयार गरिन्छ। पर्स, झोला, पर्दा, टेबल म्याट, चिया म्याट, पेन बक्स, टिस्यु पेपर बक्स भने एक सय रुपियाँदेखि दुई हजार पाँच सयसम्ममा पाइन्छ। तुलाधरका अनुसार अहिले विदेशमा प्राकृतिक स्रोतबाट बनेका कपडाको माग बढ्दो छ। स्वास्थ्यका हिसाबले पनि केराको थामबाट बनेका रेसाको कपडाले विभिन्न रोगबाट बचाउने गर्दछ। 

नवलपरासीको कारखानामा केराको थामबाट रेसा निकालेर कपडा बनाउने काम हुन्छ। ती कपडा काठमाडौं ल्याइसकेपछि सामान बनाइने काम हुन्छ। तुलाधरको कारखानामा बन्ने नेपाली सामान अहिले जर्मनी, अमेरिका, अष्ट्रेलियाबाट समेत अर्डर आउने गरेको छ। नेपाल हस्तकला महासङ्घका उपाध्यक्ष लाधरसँगको कुराकानीका आधारमा गाेरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :