काठमाडौँ, मङ्सिर २३ गते । शास्त्रीय नृत्याङ्गना सीता सुवेदीको बुझाइमा ‘जीवन सुन्दर फूलहरूको अनुपम सङ्ग्रह हो’ । अनेकौँ अभावकाबिच आफूलाई शास्त्रीय नृत्याङ्गनामा स्थापित गर्न सफल उहाँलाई आफ्नो जीवन सुन्दर लाग्छ ।
१२ वर्षको उमेरमा बोन म्यारोका कारण आफ्नो देब्रे खुट्टा गुमाएकी नृत्याङ्गना सुवेदीलाई कला र सङ्गीतमा डुब्न मन पर्छ । 'वन लेग डान्सर' भनेर समेत चिनिनुहुने सुवेदीले कला क्षेत्रमा आफ्नो जीवनको १२ वर्ष समर्पित गरिसक्नुभएको छ । अझै पनि कला क्षेत्रका विभिन्न विधामा आफ्नो ज्ञान बढाउँदै अघि बढिरहनुभएको छ ।
सानै उमेरदेखि नृत्य तथा गायनमा रुचि राख्ने उहाँलाई शारीरिक अपाङ्गताकै कारणले फेरि नाच्न नपाउने हो कि भन्ने चिन्ताले सताउने गर्थ्यो। तर शारीरिक अपाङ्गता भएका व्यक्तिले नाच्न सक्दैनन् भन्ने यी कुरालाई चिर्न उहाँ सफल हुनुभएको छ । उहाँले कलामै स्नातकोत्तर गर्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, 'आफूले चाहेकोभन्दा पनि समाजले मेरो लागि के चाहेको छ भन्ने विषयले अर्थ राख्दोरहेछ । जसका कारण आफ्नो इच्छा र चाहना पनि कतिपय ठाउँमा रोक्नुपर्ने अवस्था आउँछ । तर पनि मैले कहिले हार मानिनँ, निष्ठा र लगनशीलताका साथ यो क्षेत्रमा लागिरहेको छु ।'
समाजमा अझै पनि चेतनाको स्तर र कमी कमजोरीले गर्दा पहुँचयुक्त वातावरणको विकास नभएको उहाँको अनुभव छ । शैक्षिक पाठ्यक्रमले दिँदादिँदै कतिपय ठाउँमा उहाँले अपाङ्गता भएकै कारण अपहेलित हुनुपरेको छ ।
'म जस्तै अपाङ्गता भएका साथीलाई पनि कला क्षेत्रमा आउने वातावरण सबै शैक्षिक संस्थाले बुझ्न जरुरी छ', उहाँ भन्नुहुन्छ, 'आठ वर्षको उमेरदेखि नै यस क्षेत्रमा मेरो झुकाव थियो । मसँग एउटा खुट्टा पो छैन त । तर मेरो मन सबल छ म मा चेतनाको स्तर छ । मैले गर्नसक्छु भन्ने साहस थियो ।'
उहाँ सम्झिनुहुन्छ, 'ममाथि लगानी गर्न यस क्षेत्रका व्यक्तित्व धेरै डराए । लगानी गरे बापत फिर्ता आउँदैन भन्नेमा उहाँहरू अल्मलिनुहुन्थ्यो । सायद त्यो हुनु स्वाभाविक थियो । म सक्षम भएर पनि एउटा खुट्टा नहुने मान्छे कसरी नाच्न सक्छ भन्ने प्रश्नले मेरो प्रतिभालाई फिका बनाइदिन्थ्यो ।'
यसैगरी, उहाँसँग नाच सिक्ने क्रममा गुरुले नै अस्वीकार गरेको तीतो अनुभव छ । 'कत्थक नृत्य आफैँमा ३२ गुणले भरिएको हुनुपर्छ । जसमा अनुहार सर्लक्क परेको हुनुपर्ने, दुई हात फिँजाएर सुन्दर रूपमा प्रस्तुत हुनुपर्ने भन्ने परिभाषा छ । जुन भरिभाषामा म पर्दिन किनभने मसँग एउटा खुट्टा छैन । तर ममा कत्थकको धड्कन सुन्न सक्ने हौसला र क्षमता थियो । यी हरेक तीतामिठा यादलाई अँगाल्दै म यहाँसम्म आइपुगेकी छु ।'
उहाँले अहिले नयाँ परिचय पाउनुभएको छ । एउटा खुट्टा नभए पनि शास्त्रीय नाचमा उहाँ अहिले पोख्त हुनुहुन्छ । यही बिचमा उहाँले गुरु रवि रानामगरलाई भेट्नुभयो । उहाँले सुवेदीलाई शास्त्रीय नाचको बाटोमा हौसला दिने काम गर्नुभयो । तर एक खुट्टाको सहाराले नाच्न उहाँलाई सहज भने थिएन । यसमा उहाँका रवि गुरुले भने निकै मिहिनेत गर्नुपरेको उहाँ बताउनुहुन्छ ।
शास्त्रीय नियमको आफ्नै नियम र अनुशासन हुन्छ । तिनलाई बाँध्दै र आफूमा विश्वास तथा आत्मबल बढाउँदै आफू अझै कला क्षेत्रमा लामो यात्रा तय गर्ने आत्मविश्वासका साथ अघि बढ्ने सुवेदीको प्रतिबद्धता छ ।
गोरखापत्र अनलाइनका लागि सनम महर्जनले गर्नुभएको कुराकानीका आधारमा मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो :