• २० फागुन २०८१, मङ्गलबार

आहा ! टोखाको चाकु

blog

भाइबहिनीहरू, माघेसङ्क्रान्तिमा चाकु खाएको कत्तिको सम्झना छ ? तपाईंहरूलाई चाकु कति मन पर्छ ? हो, माघेसङ्क्रान्तिमा चाकु खाने चलन रहँदै आएको छ । पहिले पहिले प्रायः सबैले घरमै चाकु बनाउने चलन हुन्थ्यो तर अचेल बजारबाटै तयारी चाकु ल्याउने गरिन्छ । 

चाकुले हाम्रो शरीरलाई तातो र न्यायो बनाउँछ । त्यसैले जाडोयाममा चाकु बढी खाइन्छ । टोखाका चाकु व्यवसायी रामराज श्रेष्ठले जाडो महिनामा चाकु बढी मात्रामा उत्पादन र बिक्री हुने गरेको बताउनुभयो । चाकु कसरी तयार पारिन्छ भन्नेबारेमा चर्चा गर्ने छौँ ।

चाकुका लागि काठमाडौँको टोखा प्रसिद्ध ठाउँ हो । टोखा चाकुका लागि प्रसिद्ध हुनुमा छुट्टै किंवदन्ती छ । नेपाल भाषामा ‘टु’ अर्थात् उखु र ‘ख्य’ अर्थात् चौर भन्ने बुझिन्छ । यो ठाउँको नाम ‘टुख्य’ थियो । यहाँ उखुको मैदान थियो । टुख्यबाट अपभ्रंश भएर टोखा हुन गएको हो । 

टोखामा चाकु व्यवसायमा लाग्नुभएका सबै उद्यमीको पुस्तौँदेखिको पारिवारिक पेसा हो । प्रायः आफ्ना घरका सदस्य मिलेर चाकु उत्पादन गर्नुहुन्छ । जाडो महिनामा बाहिरबाट श्रमिकलाई पनि काममा लगाउने चलन छ ।

योमरी पुन्ही र माघेसङ्क्रान्तिका लागि एक महिनाअघिदेखि नै चाकु तयार गर्ने काम सुरु भइसक्छ । नेवारी संस्कारमा योमरी खाने चलन हुन्छ । त्यो पर्वलाई योमरी पुन्ही भनिन्छ ।

टोखामा सादा चाकु, मसला राखेको चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत चाकुबाट बनेका विभिन्न परिकार पाइन्छ । 

चाकु व्यापारी बाबुराज डङ्गोलका अनुसार कृष्णनगरबाट गुड ल्याइन्छ । जसलाई सखर भनिन्छ । सखर उखुबाट तयार गरिन्छ । सखरलाई पानीमा एक घण्टा उमालेर चाकु तयार गरिन्छ । डेढ घण्टामा करिब ५० केजीसम्म चाकु तयार गर्न सकिन्छ । त्यति चाकु तयार गर्न १० जना मानिसको प्रयोग हुन्छ । 

चाकु बनाउने काम एकदमै कठिन हुन्छ । बाबुराजले जाडोमा करिब चार सय बोरा चाकु बनाउने गर्नुभएको छ । आगो छेउमा बसेर काम गर्न कठिन हुने भएकाले गर्मीमा कम उत्पादन गरिन्छ ।  

सखरलाई एक, डेढ घण्टा पकाइसकेपछि भाँडोबाट निकालेर चिसो पारिन्छ । पकाइसकेपछि कालो रङको हुन्छ । चिसो पारेपछि पाकेको झोललाई निकै मेहनतका साथ फेट्ने गरिन्छ । यो काम हातबाटै गरिन्छ । फिटेपछि पहेँलो रङको हुन्छ । त्यसपछि चाकुलाई प्लास्टिकमा पोका पारेर बजारमा पठाइन्छ । 

चाकुमा प्रोटिनका साथै भिटामिन बी–१, बी–२, बी–३, बी–५ र भिटामिन सी पनि पर्याप्त मात्रामा हुन्छ । चाकु सेवन गर्नाले रुघाखोकी, हाडजोर्नीको समस्या, पेट तथा छालाको समस्या समाधान हुनुको साथै रक्तसञ्चार प्रणालीसमेत राम्रो हुन्छ । 

संस्कृतिविद् हरिराम जोशीले जाडोयाममा मानिसको शरीरमा उत्पन्न हुने विकारलाई हटाई फुर्तिलो र बलियो बनाउन चाकु खाने सल्लाह दिनुभयो ।   

       मुना