• २३ चैत २०८२, सोमबार

सिन्धुलीमा राष्ट्रिय आर्थिक गणना तयारी तीव्र

blog

जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा सोमबार सम्पन्न राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी कार्यक्रम । तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, चैत २३ गते । सिन्धुली जिल्लामा आगामी वैशाखको पहिलो साताबाट सुरु हुने ‘राष्ट्रिय आर्थिक गणना २०८२’ को तयारी तीव्र पारिएको छ ।

जिल्ला आर्थिक गणना कार्यालय, सिन्धुलीले सोमबार जिल्लास्थित विभिन्न सरोकारवाला निकायहरूको उपस्थितीमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी जिल्लास्तरीय गोष्ठी आयोजना गरी सो जानकारी गराएको हो । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने उक्त गणना राष्ट्रिय अभियान भएकोमा सबैले मिलेर सफल पार्नु पर्ने कार्यक्रममा सहभागीहरूको जोड रहेको छ ।

जिल्लामा उक्त कार्यका लागि जिल्लामा पाँच जना सुपरिवेक्षक र ३० जना गणक नियुक्त गरी परिचालन गरिने जिल्ला आर्थिक गणना अधिकारी टीकाप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार गणक तथा सुपरिवेक्षकलाई चैत २६ गतेदेखि ३० गतेसम्म पाँच दिनको तालिम दिएर परिचालन गरिने छ । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आर्थिक गणनालाई सफल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसले राज्यले बनाउने नीति तथा नियममा प्रत्यक्ष प्रभाव पार्दछ, त्यसैले यो राष्ट्रिय अभियानलाई सबैले मिलेर सफल बनाउनुपर्छ ।’

त्यसैगरी जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्कीले तथ्याङ्क सङ्कलनका क्रममा घर–घर पुग्ने गणकलाई सत्य र सही विवरण प्रदान गर्न सबैलाई आग्रह गर्नुभयो । ‘विश्वसनीय विवरण आउनु अत्यन्त आवश्यक छ, यसमा सबैको महत्त्वपूर्ण भूमिका रहन्छ,’ उहाँले भन्नुभयो ।

गोष्ठीमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक सङ्घ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।