• १३ असोज २०८१, आइतबार

भन्सार जाँचपासमा समस्या

blog

काठमाडौँ, कात्तिक २९ गते । भन्सार विभागले सर्भर अपडेट गरिरहेका कारण मुलुकभरका भन्सार कार्यालयबाट मालवस्तु जाँचपासमा व्यवधान आएको छ। 

आसिकुडा वल्र्ड सफ्टवेयरको अपडेट भइरहेकाले कतैकतै केही समस्या आएको विभागले जनाएको छ। सफ्टवेयर अपडेट गरेर ‘प्री–टेस्टिङ’ भइसकेको पनि यो परीक्षणकै चरणमा रहेकाले कतैकतै समस्या आएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो।

सफ्टवेयरले भन्सार प्रणालीलाई स्वचालित बनाएको छ। सन् २०१६ देखि प्रयोगमा आएको यो सफ्टवेयरबाटै मुलुकभर भन्सार जाँचपासको काम हुँदै आएको छ। तर, त्यसयता अपडेट नभएकाले केही समस्या आइरहेको थियो। अहिले अङ्कटाडको प्राविधिक टोलीले सफ्टवेयर अपडेट र परीक्षण गर्ने काम गरिरहेको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो। निर्वाचनपछि पूर्ण रूपमा सञ्चालन हुने र त्यसपछि पहिले जस्तो सर्भर डाउन हुनेलगायतका समस्या समाधान हुने विश्वास विभागको छ।

रङ्गेली समाचारदाताका अनुसार विभागको सर्भरमा आइतबारदेखि समस्या देखिएपछि जाँचपासमा समस्या भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो। उहाँले आइतबारको तुलनामा सोमबार केही सहज भएको बताउनुभयो।

“नयाँ भर्सनका विषयमा बुझ्न समय लाग्ने भएकाले केही समस्या भएको हो। सोमबार साँझसम्ममा ठीक भएको छ,” ढुङ्गानाले भन्नुभयो। यसैगरी नेपालगञ्ज समाचारदाताका अनुसार नेपालगञ्ज भन्सार कार्यालयमा दुई दिनदेखि भन्सार जाँचपास नहुँदा भारतबाट आएका सामानसहितका सयौँ मालवाहक गाडी रोकिएका छन्। आइतबारदेखि भन्सार कार्यालयको सर्भर नचलेका कारण भन्सार कार्यालयले जाँचपास गर्न नसक्दा अहिले कार्यालय परिसरमा मालवाहक गाडी रोकिएका हुन्। 

सर्भर नचल्दा राजस्व सङ्कलन गर्ने कार्यमा अवरोध भएपछि आइतबार बेलुका एक घण्टा मात्र राजस्व सङ्कलन गरिएको तथा सोमबार बिहानैदेखि जाँचपास र राजस्व सङ्कलन नभएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ। 

सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सर्भर सञ्चालन नहुँदा उद्योगी व्यवसायीलाई ठूलो नोक्सानी भएको बताउनुभयो। 

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी नाथ सापकोटाले भन्सार विभागको सर्भरमा समस्या आएपछि काममा अवरोध भएको र यो समस्या यहाँ मात्र नभई देशभरि भएको बताउनुभयो।