• १३ असोज २०८१, आइतबार

मलको अभावमा आलु खेती छाड्दै किसान

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, मङ्सिर ३ गते । आलु रोप्दा आवश्यक पर्ने डीएपी मल नभएपछि काभ्रेपलाञ्चोक जिल्लाका किसान आलु रोप्ने वा नरोप्ने भन्ने दोधारमा परेका छन्। 

विगत तीन वर्षदेखि निरन्तर रूपमा रासायनिक मलको अभाव खेप्दै आएका काभ्रेली किसान सहज रूपमा मल किन्न नपाउँदा आलु खेती छाडेर के बाली लगाउने भन्ने चिन्तामा छन्। 

काभ्रे जिल्लाको मण्डनदेउपुर, पाँचखाल, पनौती नगरपालिकालगायतका स्थानमा आलु रोप्ने समय भएको छ तर यति बेला जिल्लामा डीएपी र युरिया मलको आवश्यकताको अनुपातमा न्यून परिमाणमा मात्र रासायनिक मल भित्रिएको छ। 

गत वर्षसम्म आलुको व्यावसायिक खेती गर्दै आएका यहाँका किसान यस पटक भने मल अभावकै कारण आफ्नै उपभोगका लागि मात्रै आलु रोप्ने सोचमा छन्। 

मण्डनदेउपुर नगरपालिका–११ का किसान ऋषिराम तिवारीले रासायनिक मल अभावकै कारण यस वर्ष बेच्नका लागि आलु खेती नगर्ने योजना बनाएको बताउनुभयो।

“बजारमा डीएपी मल छैन, सहकारी संस्थाले वितरण गर्ने थोरै मलले पुग्दैन। आलु नरोपौँ, घरखर्च तथा आफन्तलाई कोसेली पठाउने आलु हुन्न, कहाँबाट मलको व्यवस्थापन गरेर आलु रोप्नु खोइ ?” उहाँले दुःख प्रकट गर्नुभयो। 

अरू किसानको अवस्था पनि यस्तै छ । पाँचखालका किसान नवराज अधिकारीले रासायनिक मल अभावका कारण आलु रोप्न समस्या भएको बताउनुभयो। उहाँले रासायनिक मल सहज बनाउन सम्बन्धित निकायको पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो। 

अधिकारीले यस वर्ष खेतीका लागि १० बोरा आलुको बीउ राख्नुभएको थियो तर अहिले डीएपी मल अभाव भएपछि यो बीउ के गर्ने भन्ने निर्णयमा पुग्न नसकेको उहाँले बताउनुभयो। “आलु नरोपौँ, घरखर्च र व्यवहार टार्न पैसा हुन्न, रोपौँ त त्यसका लागि आवश्यक पर्ने मल छैन,” अधिकारीले थप्नुभयो। 

सङ्घीय सरकारले बागमती प्रदेशमा नेपालमा आएको कुल मलको १२ दशमलव ०२ प्रतिशत मल वितरण गर्दै आएको छ । बागमती प्रदेश मल वितरण व्यवस्थापन समितिको असोज ३१ गतेको बैठकले काभ्रेपलाञ्चोकका १३ स्थानीय तहका लागि ३५७ मेट्रिक टन र कात्तिक २१ गतेको बैठकले जिल्लाका लागि ३२९ मेट्रिक टन डीएपी मलको कोटा निर्धारण गरेको छ। दुई पटक गरी जिल्लामा १३ हजार ७२० बोरा मल आएको छ। आलु लगाउने समयमा किसानले माग गरेअनुसारको मल आपूर्ति गर्न नसकिएको कृषि सामग्री कम्पनी, धुलिखेलका प्रमुख वासुदेव शर्माले बताउनुभयो। उहाँले यस जिल्लामा हाल पाँच लाख बोरा डीएपी र एक लाख बोरा युरिया मल आवश्यक रहेको बताउनुभयो। उहाँले कार्यालयमा आएको मल कोटाअनुसार स्थानीय तहलाई वितरण गरिएको बताउनुभयो। 

यसैबीच साल्ट ट्रेडिङ कर्पोरेसनको बनेपा शाखाका निमित्त प्रमुख सुरेन्द्र अवालले कार्यालयका केही युरिया मल भए पनि डीएपी मल नरहेको जानकारी दिनुभयो। उहाँले डीएपी मल आउन करिब दुई महिना लाग्ने बताउँदै मौज्दात रहेको मल सहकारी संस्थालाई कोटाअनुसार वितरण गरिएको बताउनुभयो।