• २४ असार २०८१, सोमबार

पशुपालन सर्वेक्षण : गाई र भैंसीबाट करिब नौ करोड लिटर दूध उत्पादन

blog

भैँसी पालन : फाइल तस्बिर

काठमाडौँ, कात्तिक २९ गते । नेपालमा २६ हजार गाई र भैंसीबाट आठ करोड ९० लाख लिटर दूध उत्पादन हुने गरेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गराएको एक सर्वेक्षणले नेपालमा ४४ हजार ८७३ वटा गाई÷गोरु व्यावसायिक रुपमा पालिएको देखाएको छ । ती गाई, गोरुमध्ये उन्नत जातको सङ्ख्या ३३ हजार ७५७ रहेको छ ।

त्यसमध्ये दूध दिने र नदिने गाईको संख्या क्रमशः १५ हजार ३८० र र नौ हजार १०४ कृषि मन्त्रालयले जनाएको छ । सर्वेक्षणबाट प्राप्त नतिजा अनुसार, नेपालमा  छ हजार ४८६ वटा व्यावसायिक पशुपालन फार्महरु रहेको पाइएको छ ।

त्यसमध्ये मध्ये एकहजार २३३ वटा गाईपालन फार्म, ९१४ वटा भैंसीपालन फार्म, ४३ वटा राँगापालन फार्म, दुई हजार २९५ वटा बाख्रा÷च्याँग्रापालन फार्म, ५७२ वटा भेडापालन फार्म, ११८ वटा मासु प्रयोजनका लागि र ३६४ वटा पाठापाठी उत्पादनका लागि सुँगुरपालन फार्म रहेको पाइएको छ ।

यसैगरी, गाईभैंसीपालन फार्म ४८३ वटा, बाख्राच्याँग्राभेडापालन फार्म १९८ वटा र गाईभैंसीपालन तथा बाख्राच्याँग्राभेडापालन  फार्म २६५ रहेको कृषि मन्त्रालयका प्रवक्ता डा.प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

सर्वेक्षणअनुसार सबैभन्दा बढी नौ हजार ३६४ वटा गाईगोरु बागमती प्रदेशमा र सबैभन्दा कम अर्थात दुई हजार २७४ वटा सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ ।

पशुपालन सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरिँदै । 

सर्वेक्षणले नेपालमा जम्मा ३४ हजार ६५३ वटा राँगा÷भैंसी व्यावसायिक रुपमा पालिएको देखाइएको छ । जसमध्ये उन्नत जातका राँगा÷भैंसीको संख्या ७१ प्रतिशत रहेको छ । यीमध्ये ६१ प्रतिशतले दूध दिन्छन् भने ३९ प्रतिशत दूध दिँदैन । सबैभन्दा बढी भैँसी गण्डकी प्रदेशमा ११ हजार ४६९ र सबैभन्दा कम सुदूरपश्चिममा एक हजार ६३० वटा रहेको मन्त्रालयको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणअनुसार नेपालमा जम्मा एक लाख ५० हजार  ५६८ वटा बाख्रा व्यावसायिक रुपमा पालिएको छ । जसमध्ये उन्नत जातका बाख्राको संख्या ४५ प्रतिशत रहेको छ । यी उन्नत जातका बाख्रामध्ये बोर जातका बाख्रा सबैभन्दा बढी ३१ हजार ६३७ संख्यामा रहेका छन् भने जमुनापारी जातको सङ्ख्या २३ हजार ६६३ रहेको छ ।

प्रदेश १ का २२ प्रतिशत बाख्रा रहेका छन् भने मधेश प्रदेशमा चार प्रतिशत मात्र बाख्रा रहेका छन् । यसैगरी,, व्यावसायिक रुपमा पालिएका च्याँग्राहरुको संख्या नेपालमा ३१,७८१ पाOएको छ ।

नेपालमा व्यावसायिक रुपमा पालिएको भेडाको सङ्ख्या ८८ हजार ४२१ रहेका छन् । जसमध्ये बरुवालजातका भेडाको सङ्ख्या १३ हजार ३३४ रहेका छन् । कागे जातको सङ्ख्या छ हजार २४८ रहेको छ । कर्णालीमा सबभन्दा ४० प्रतिशत र सबभन्दा कम मधेश प्रदेशमा ०.४ प्रतिशत छन् ।

नेपालमा व्यावसायिक रुपमा पालिएको सुँगुरको संख्या ३८ हजार ३६० रहेका छन्, जसमध्ये उन्नत जातका सुँगुरको संख्या ३५ हजार २३० छन् । त्यसमध्ये सबभन्दा बढी सुँगुर प्रदेश १ मा ४४ प्रतिशत र सबभन्दा कम मधेश प्रदेशमा १ प्रतिशत रहेको सर्वेक्षणn] देखाएको छ ।

सर्वेक्षणका अनुसार १५ हजार ३८० वटा दुध दिने गाईबाट चार करोड ५८ लाख तीन हजार ४५७ लिटर दुध उत्पादन भएको छ । होलिस्टिन÷होलिस्टिनक्रसब्रिड जातको गाईबाट सबैभन्दा बढी दुध उत्पादन भएको छ ।

प्रति गाई प्रति दिन सरदर १० लिटर दुध दिने गरेको पाइएको छ । दुई करोड ३२ लाख ३१ ह्जार ९१ लिटर दूध भैंसीबाट उत्पादन भएको छ । त्यसमध्ये मुर्रा जातको भैंसीबाट सबैभन्दा बढी दुध उत्पादन हुने गरेको पाईएको छ ।

प्रति भैंसीबाट प्रत्येक दिन सरदर आठ लिटर दुध उत्पादन हुने गरेको सर्वेक्षणले देखाएको छ । उत्पादित दुधमध्ये गाईको ८९ प्रतिशत भैंसीको ८५ प्रतिशत दूध बिक्री हुने गरेको सर्वेक्षणले देखाएको छ ।

नेपालको कृषि तथ्याङ्कीय प्रणालीलाई सुदृढीकरण गर्न विश्व खाद्य तथा कृषि संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालयले यो सर्वेक्षण गरेका हुन् । यस सर्वेक्षणले दर्ता गरी वा नगरी व्यावसायिकरुपले संचालन गरिएका मध्यम तथा ठूला पशुपालन व्यवसायहरुलाई मात्र समेटेको छ ।