सिराज खान
नेपालगन्ज, कात्तिक २७ गते । भारतको दिल्लीमा भएको कार बम विस्फोटपछि यहाँस्थित नेपाल भारत नाकामा भारतीय सुरक्षा निकायले हाइ अलर्ट जारी गर्दै चेकजाँचमा अत्यधिक कडाइ गरेको छ ।
यहाँस्थित जमुनाहा नाकाबाट आवागमन गर्ने हरेक नेपाली र भारतीय नागरिकसँग सोधपुछ गरेर उनिहरुको परिचयपत्र हेरेर मात्रै आवागमन गर्न दिइएको भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बलले जनाएको छ ।
नाकाबाट आवागमन गर्ने सवारी साधनहरुमाथि पनि कडा निगरानी राखिएको र तालिम प्राप्त कुकुरहरुबाट चेकजाँच गरेर मात्रै आवागमन गर्न दिइएको सशस्त्र सीमा बल एसएसबीका कमान्डेन्ट गंगासिंह उदावतले बताउनुभयो ।
उहाँले नेपाल भारतको नेपालगन्ज नाका पनि निकै संवेदनशील मानिएकाले यो नाकामा चेकजाँच बढाउनुका साथै प्रहरी र एसएसबीको टोलीले निरन्तर ग्रामीण क्षेत्रहरुमा समेत गस्ती गरिरहेको बताउनुभयो ।
यो नाकामा आवागमन गर्ने हरेक व्यक्तिसँग विस्तृत सोधपुछ गर्नुका साथै कडा चेकजाँच गरेर मात्रै आवागमन गर्न दिइएको सीमापारि भारतीय रुपैडिहा प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक रमेश सिंहले बताउनुभयो ।
उहाँले केन्द्रबाट नै सीमा नाका र आवागमन गर्ने हरेकमाथि कडाइ तथा निगरानी गर्ने निर्देशन आएकाले सोही बमोजिम गस्ती र पेट्रोलिङ बढाइएको बताउनुभयो ।
भारतको राजधानी दिल्लीको लालकिल्ला अगाडि भएको कार बम विस्फोटमा १३ जनाको मृत्यु हुनुका साथै ४० जनाभन्दा बढी घाइते भएका थिए । सोही घटनापछि भारतले आफ्नो देशसँग सिमाना जोडिएका सबै नाकामा हाइ अलर्ट र कडाइ सुरु गरेको जनाएको छ ।