गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २७ गते । सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा अवस्था र राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई सीमा सुरक्षा (बोर्डर आउट पोस्ट) मै खटाएको छ ।
नेपाल–भारत सिमानामा रहेका २४९ र नेपाल–चीन सीमा सुरक्षाका लागि ११ वटा गरी २६० वटा बिओपी स्थापाना गरिएको छ । बिओपी सुरक्षाका लागि यसअघि सशस्त्र प्रहरी नायब निरीक्षक (डिएसपी) र सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा एक प्लाटुन अर्थात् ४० जनाको फोर्स तैनाथी छ ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार बिओपीमा तैनाथ एसएसपीहरूले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको आवश्यक समन्वयमा काम गर्ने छन् । सशस्त्रले पहिलो चरणमा कोशी प्रदेशको सीमा सुरक्षा गुल्म काँकडभिट्टा झापा र प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङमा एसएसपी दिग्विजय सुवेदी, मधेश प्रदेशको सीमा सुरक्षा गुल्म वीरगन्ज पर्सामा माधवप्रसाद पौडेल, लुम्बिनी प्रदेशको सीमा सुरक्षा गुल्म डन्डा–कृष्णनगर–जमुनाह बाँकेमा रवीनराज कर्णजित र सुदूरपश्चिम प्रदेश सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र सुरक्षा गुल्म गड्डाचौकीसम्मको जिम्मेवारी एसएसपी गङ्गाराम श्रेष्ठलाई दिएको छ ।
एसएसपीहरूले बिओपीमै बसेर समग्र वस्तुस्थिति अध्ययन गरी दैनिक तथा साप्ताहिक रूपमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन पठाउने छन् । सशस्त्रले पहिलो पटक उच्च अधिकृतलाई नै सीमा सुरक्षाको कमान्ड तोकी पठाएको यो पहिलो अभ्यास हो । निश्चित समयमा यसको प्रभावकारिता हेरी यसको निरन्तरता थप गर्नेबारे तय हुने जनाइएको छ ।
सीमाक्षेत्रमा हुने कुनै खबर, सूचना तथा गुनासो भएमा सर्वसाधारण नागरिकले समेत प्रत्यक्ष रूपमा सम्पर्क राख्ने उद्देश्यले बोर्डर आउट पोस्टकै सुरक्षामा खटाएको र यसले सुरक्षा प्रभावकारिता बढ्नुका साथै राजस्व चुहावट, चोरीनिकासी तथा पैठारीसम्बन्धी गैरकानुनी क्रियाकलापमा नियन्त्रण आउन सहज हुने अपेक्षा गरेको सशस्त्र मुख्यालयले जनाएको छ । यसका साथै सीमाक्षेत्रबाट हुन सक्ने अवैध गतिविधि, संदिग्ध व्यक्ति पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउने र विभिन्न सूचनाको अभिलेखीकरण तथा व्यवस्थासमेत गर्ने छन् ।