• १६ वैशाख २०८३, बुधबार

च्याम्पियन्स लिग : बायर्नमाथि पिएसजीको रोमाञ्चक जित

blog

बल खोस्ने प्रयास गर्दै खेलाडी । तस्बिर : सिन्ह्वा/रासस

काठमाडौँ, वैशाख १६ गते । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल खेलको पहिलो लेगमा पाहुना टोली बायर्न म्युनिखमाथि रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा पिएसजीले बायर्नलाई ५–४ गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा पिएसजीले पहिलो हाफमा ३–२ गोलको अग्रता बनाएको थियो । 

खेलमा सुरुवाती अग्रता भने बायर्नले लियो । ह्यारी केनले १७औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । त्यसपछि पिएसजी भिचा भरात्स्खेलियाले २४औँ र जोआओ नेभेसले ३३औँ मिनेटमा गोल गर्दै पिएसजीलाई अगाडि बढाउनुभयो । 

त्यसपछि ४१औँ मिनेटमा माइकल ओलिसेले गोल गर्दै बायर्नलाई बराबरीमा ल्याउनुभयो । पहिलो हाफको अतिरिक्त समयमा उस्मान डेम्बेलेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई पुन: अग्रता दिलाउनुभयो । त्यसपछि भरात्स्खेलियाले ५६औँ मिनेटमा व्यक्तिगत दोस्रो र डेम्बेलेले ५८औँ मिनेटमा अर्को गोल थप्नुभयो । 

त्यसपछि ६५औँ मिनेटमा डायोट उपामेकानोले  र ६८औँ मिनेटमा लुइस डियाजले गोल गरेपनि बायर्नले हार टार्न सकेन । दुई टोलीबिचको दोस्रो लेग बायर्नको घरेलु मैदानमा हुने छ । एजेन्सी