काठमाडौँ, कात्तिक २७ गते। राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आसन्न प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा हुने सुनश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाको सभापतित्वमा बसेको समितिको आजको बैठकले प्रहरीको मनोबल उच्च बनाउँदै जेनजी आन्दोलनका क्रममा लुटिएका हातहतियार फिर्ता गर्न र फरार कैदीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको हो। समितिले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो। छलफलमा समितिका सदस्यहरुले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्ने, प्रहरीको मनोबल बढाउनुपर्ने, मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नुपर्नेमा जोड दिनुभयो।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री अर्यालले सरकारले निर्वाचनमा सुरक्षाको कुनै कसर बाँकी नराख्ने बताउनुभयो। उहाँले सुरक्षा निकायलाई आवश्यक बन्दोबस्तीका सामग्री कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक स्रोत जुटाउन समन्वय भइरहेको बताउनुभयो।
फरक प्रसङ्गमा मन्त्री अर्यालले सरकार दलहरुसँग नकारात्मक हुनै नसक्ने बताउनुभयो। उहाँले वार्ता र संवादबाटै आगामी समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। रासस