राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा),कात्तिक २७ गते । स्याङ्जाको पुतलीबजार नगरपालिकाले आलुमा आत्मनिर्भर कार्यक्रम सुरु गरेको छ । आलु उत्पादन राम्रो हुने स्याङ्जामा यसको प्रवर्धनका लागि पालिकाले अभियान नै चलाएको हो ।
कृषकले खेती गर्दा लागत अनुसारको फाइदा पाउन नसकेको गुनासो गर्न थाले पछि पालिकाले नगदे बालीको रूपमा आलु प्रवर्धनमा लागेको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“पालिकामा आलु खेतीका लागि अभियान चलाएका थियौं वडा तहबाट माग आएको छ, अहिले हामीले अनुदानमा बिउ वितरण गरिरहेका छौं ।” अनुदानमा बिउ दिएको पालिकाले उत्पादन भएको आलुको बजारीकरणका लागि सहजीकरण गर्ने प्रमुख रेग्मीले जानकारी दिनुभयो ।
किसानको मागका आधारमा नगरपालिकाले आलुको बिउ उपलब्ध गराउँदै आएको पालिकाले जनाएको छ ।
आलुको बिउ नगरपालिकाका १४ वटै वडामा पुर्याइएको छ । पुतलीबजारलाई आलुमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानको माग बमोजिम जनकदेव र खुमल सेतो–१ जातका आलुका बिउ ल्याएर वितरण गरिएको नगर प्रमुख रेग्मीले बताउनु भयो । पुतलीबजारका सबै वडालाई ७१ हजार चार सय किलोग्राम आलुको बिउ वितरण हुने उहाँको भनाइ छ ।
किसानले जनकदेव आलुको बिउ ६१ हजार चार सय किलो र खुमल सेतो एक १० हजार किलोग्रामको माग गरेका थिए । आलु खेतीका लागि उपयुक्त हावापानी र भुगोल भएकाले खेत तथा बारीमा आलु खेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । आलुको बिउ प्रतिकिलो ५८ रुपैयाँमा खरिद गरेको र ५० प्रतिशत अनुदानमा किसानले प्रतिकिलो २९ रुपियाँमा आलुको बिउ पाएका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले जानकारी दिनुभयो ।
१४ वटा वडा रहेको पुतलीबजारमा सबै भन्दा धेरै माग वडा नं. ३ मा रहेको उहाँको भनाइ छ ।
नगरपालिकाले आलुमा आत्मनिर्भर अभियान अभियानका लागि चालु आर्थिक वर्ष २०८२-८३ का लागि रु ५० लाख विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो ।