न्युयोर्क, वैशाख १६ गते । दक्षिण सुडानमा बढ्दो भोकमरी सङ्कटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म ७८ लाख मानिसलाई चरम खाद्य असुरक्षाको अवस्थामा धकेल्ने चेतावनी अन्तर्राष्ट्रिय संस्थाले दिएका छन् ।
संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो एकीकृत खाद्य सुरक्षा वर्गीकरण (आइपिसी) रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । रिपोर्टमा उल्लेखित तथ्याङ्कले दक्षिणी सुडानको कुल जनसङ्ख्याको ५६ प्रतिशत मानिस हाल तीव्र खाद्य असुरक्षाको सामना गर्न बाध्य भएको जनाएको छ ।
प्रतिवेदन अनुसार ७३ हजार ३०० मानिसले दुःखद एंव “विनाशकारी” भोकमरी सङ्कटकोे सामना गरिरहेका छन् । यस अघि २५ लाख मानिस भोकमरीको आपतकालीन चरणको सामना गर्दै बाँचिरहेको बताइएको थियो भने ५३ लाख मानिसहरू सङ्कटको चरणमा बाँचिरहेका छन् । संयुक्त राष्ट्र सङ्घका एजेन्सीले बढ्दो द्वन्द्व, सामूहिक विस्थापन, आर्थिक गिरावट, जलवायु परिवर्तन कृषि उत्पादनमा कमीको कारण यो सङ्कट बढेको बताएका छन् ।
आइपिसी रिपोर्ट संयुक्त राष्ट्रका एजेन्सी, क्षेत्रीय साझेदार र सहायता संस्थाको समन्वयमा गरिने विश्वव्यापी पहल हो यसले खाद्य असुरक्षालाई विभिन्न पाँच चरणमा वर्गीकृत गरी अध्यन अनुसन्धान गर्दछ । रासस/क्युएनए