• १६ वैशाख २०८३, बुधबार

दमेकको वडा कार्यालय भवन निर्माण

blog

दमेकको भातडाँडामा निर्मित वडा कार्यालयको भवन । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, वैशाख १६ गते । दक्षिण बागलुङको जैमिनी नगरपालिका–३, दमेकको वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता समितिको जीर्ण भवनबाट सेवा दिँदै आएको वडा कार्यालयलाई भवन बनेपछि सेवा प्रवाहमा सहज हुने छ । 

गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र जैमिनी नगरपालिकाको साझेदारीमा वडा कार्यालयको भवन निर्माण गरिएको हो । भवन निर्माणमा आर्थिक मामिला मन्त्रालयको ४० लाख र जैमिनी नगरपालिकाको ६० लाख रुपियाँ गरी कुल एक करोडको लागतमा भवन निर्माण गरिएको हो । 

‘‘वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ, अब फर्निसिङको काम सकेर आफ्नै भवनबाट सेवा प्रवाह गर्न तयारीमा जुटेका छौं’’ जैमिनी–३, दमेका वडाध्यक्ष कृष्णबहादुर भुजेलले भन्नुभयो, ‘‘वनको भवनमा प्रशासन र जनप्रतिनिधि एउटै कोठामा बस्दा अहज भएको थियो, भवन बनेपछि सेवा प्रवाह सहज हुने विश्वास छ ।’’

भवनमा सेवाग्राही कक्ष तथा आवश्यक प्रशासनिक संरचनासहित तीनकोठे भवन निर्माण गरिएको हो । भवनमा स्तनपान कक्ष र छतमा ट्रस्टको बैठक कक्ष बनाउने समेत योजना बनेको वडाध्यक्ष भुजेलले जानकारी दिनुभयो । भवनले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अपेक्षा भुजेलले बताउनुभयो ।

स्थानीयवासी इन्द्रकली पुन, मोहन पुन, कृष्णबहादुर छन्त्याल र चन्द्रबहादुर पाण्डेको परिवारले १० लाख रुपियाँ मूल्यको १० रोपनी जमिन निःशुल्क रूपमा उपलब्ध गराएपछि माथिल्लो दमेकको भातडाँडामा वडा कार्यालयको भवन निर्माण गरिएको हो । 

फर्निसिङको काम सकेर आगामी वैशाख २४ गते गण्डकी प्रदेश सरकारका मन्त्रीबाट शुभारम्भ गरी आफ्नै भवनबाट सेवा दिइने भुजेलले जानकारी दिनुभयो । स्थानीय तहको सुदृढीकरणका लागि पूर्वाधार र जनशक्ति महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । 

वडाको भवनबाट नागरिकलाई सहज र सुविधायुक्त तरिकाले सेवा प्रवाह हुने जैमिनीका नगर प्रमुख हरिहर शर्माले बताउनुभयो । ‘‘आफ्नै भवन अभावमा समस्या खेप्दै आएको वडाले अब सेवा प्रवाहलाई चुस्त र सहज रूपमा सञ्चालन गर्ने छ’’ शर्माले भन्नुभयो, ‘‘नागरिकलाई प्रभावकारी सेवाप्रवाह गर्न भौतिक संरचना अपरिहार्य छ ।’’