• १३ असोज २०८१, आइतबार

निक्षेप र कर्जा वृद्धिदर सुस्त

blog

काठमाडौँ, मङ्सिर  २ गते । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप र कर्जाको वृद्धिदर सुस्त देखिएको छ ।

 नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्ममा निक्षेप ० दशमलव ४ र कर्जा १ दशमलव ३ प्रतिशतले मात्रै बढेको देखिएको हो । 

गत आर्थिक वर्षको सोही अवधिमा निक्षेप १ दशमलव २ र कर्जा ७ दशमलव ७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भने असोजमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ८ दशमलव २ प्रतिशतले र कर्जा ६ दशमलव ४ प्रतिशतले बढेको छ । 

राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७ दशमलव ६ प्रतिशत, २६ दशमलव ७ प्रतिशत र ५९ प्रतिशत छ । अघिल्लो आवमा यस्तो अंश क्रमशः ७ दशमलव ७ प्रतिशत, ३४ दशमलव ४ प्रतिशत र ५० दशमलव ४ प्रतिशत थियो । असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७ प्रतिशत छ ।

 पहिलो तीन महिनामा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये संस्थागत क्षेत्रतर्फ ६३ दशमलव ९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६ दशमलव १ प्रतिशत छ । यो अवधिसम्ममा वाणिज्य बैङ्कको कर्जा प्रवाह १ दशमलव २ प्रतिशत, विकास बैङ्कको कर्जा प्रवाह २ दशमलव ६ प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह ० दशमलव ३ प्रतिशतले बढेको छ । 

बैङ्क तथा वित्तीय संस्थाले गरिरहेको कर्जा लगानीमध्ये ६६ दशमलव ७ प्रतिशत कर्जा घरमा र १२.२ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । 

तीन महिना अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५ दशमलव ६ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३ दशमलव ९ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २ दशमलव ८ प्रतिशतले बढेको छ । 

त्यस्तै थोक तथा खुद्रा व्यापार क्षेत्रको कर्जा २ दशमलव २ प्रतिशत, निर्माण क्षेत्रको कर्जा १ दशमलव ७ प्रतिशत र कृषि क्षेत्रको कर्जा ० दशमलव ८ प्रतिशतले बढेको छ ।