• १० चैत २०८२, मङ्गलबार

महासङ्घको नेतृत्वका लागि उम्मेदवारी घोषणा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १० गते । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नेतृत्वका लागि फरक फरक समूह बनाएर उम्मेदवारी घोषणा हुन थालेको छ । आगामी चैत २९ गते हुने महासङ्घको ६० औँ साधारण सभाले नयाँ कार्यसमिति चयन गर्दै छ । त्यससँगै आकाङ्क्षीहरूले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेका हुन् । 

सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै वस्तुगत उपाध्यक्षतर्फ शिवप्रसाद घिमिरे, जिल्ला नगर उपाध्यक्षतर्फ दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा र एसोसिएट्स उपाध्यक्षतर्फ प्रबलजङ्ग पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँहरूको समूह अन्तर्गत केन्द्रीय सदस्यका लागि पनि दुई दर्जन प्रतिनिधिले सोमबार नै उम्मेदवारी घोषणा गर्नुभएको छ । 

यसअघि हेमराज ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने गरी उक्त समूहले पनि उम्मेदवारी घोषणा गरेको छ । जसमा वस्तुगत उपाध्यक्षतर्फ नरेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा कल्पना गैरे र उमेश डालमिया, एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ र महिला उपाध्यक्षमा कमला श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । उम्मेदवारी घोषणा कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई समूह बनाएरभन्दा सर्वसम्मतिमार्फत नेतृत्व चयन गर्न सके मात्र निजी क्षेत्रको मुद्दा बलियो हुने धारणा राख्नुभयो । वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पनि अन्तिम समयसम्म सहमतिको प्रयास जारी राख्ने बताउनुभयो ।