• १० चैत २०८२, मङ्गलबार

चितवन राष्ट्रिय निकुञ्जका तालतलैया सुक्दै

blog

सुक्दै गरेको देवी ताल, जहाँ हाल घाँसे मैदान बनेको छ । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ, चैत १० गते ।
विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक ताल तथा सिमसार क्षेत्र सुक्न थालेका छन् । वन क्षेत्रका तालतलैया तथा जलाशय सुक्दै र खुम्चिँदै जाँदा यसमा आश्रित दुर्लभ जलचर, थलचर तथा चराचुरुङ्गीमा असर पर्न थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत प्रविन पौडेलका अनुसार निकुञ्जभित्र पानीका स्रोत क्रमशः सुक्दै गएका छन् । “पानीका स्रोत खुम्चिँदै जाँदा यसले जलचर, थलचर र चराचुरुङ्गीलाई ठूलो प्रभाव पार्छ,” उहाँले भन्नुभयो ।

निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने देवी ताल अहिले प्रायः घाँसे मैदानमा परिणत हुँदै गएको छ । केही वर्षअघिसम्म यो ताल निकुञ्जको प्रमुख पानी स्रोत थियो । देवी तालसँगै लामी, तमोर, नन्दभाउजु, मुन्ना र छत्रे तालहरू पनि क्रमशः साघुरिँदै सुक्ने अवस्थामा पुगेका छन् भने केही ताल पूर्ण रूपमा सुकिसकेका छन् ।

निकुञ्जको तथ्याङ्कअनुसार स्थापना कालमा रहेका ५० भन्दा बढी ठूला तालमध्ये आधाभन्दा कम मात्र बाँकी छन्, ती पनि सुक्ने र खुम्चिने अवस्थामा छन् । बाघ, गैँडा जस्ता दुर्लभ वन्यजन्तु, घडियाल र मगर गोही जस्ता जलचर तथा विभिन्न दुर्लभ चराहरूको प्रमुख वासस्थान यही क्षेत्र हो ।

चराविज्ञ वासु विडारीका अनुसार तालतलैया सुक्दै र पुरिँदै जाँदा यसको प्रत्यक्ष असर वन्यजन्तु र चराचुरुङ्गीमा परेको छ । “धेरै चराहरू तालतलैया वरिपरिका घाँसे मैदानमा गुँड बनाएर बस्छन् । केही चराहरू पानीमै आश्रित हुन्छन् । ताल सुक्दै जाँदा उनीहरू प्रभावित भएका छन्,” उहाँले भन्नुभयो ।

पानीमै आश्रित केही चराहरू लोप हुने अवस्थामा पुगेका विज्ञहरू बताउँछन् । संसारमै दुर्लभ गरुण चरा चितवनमा पाइन्थ्यो तर अहिले देखिन छाडेको जनाइएको छ । चखेवा, सारस र कराङ्गकुरुङ्गजस्ता पानीमा निर्भर चराहरूको सङ्ख्या पनि घट्दै गएको छ ।

नेपालमा पाइने १२५ प्रजातिका माछामध्ये धेरैजसो यिनै जलस्रोतमा आश्रित छन् । घडियाल, मगर गोही, डल्फिन, पाँच प्रजातिका कछुवा तथा शहर, ट्याङ्ग्रा, जलकपुरजस्ता दुर्लभ माछाहरूको प्रमुख वासस्थान पनि यिनै ताल तथा नदीहरू हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार ताल सुक्नुमा प्राकृतिक कारण मुख्य रहेको छ । “नारायणी र राप्ती जस्ता नदीमा आउने बाढीले चुरे क्षेत्रबाट गिटी, बालुवा र माटो बगाएर ल्याउँदा ताल पुरिँदै र सुक्दै गएका हुन्,” उहाँले भन्नुभयो । जलवायु परिवर्तनको असर र जलकुम्भी तथा करौतेजस्ता मिचाहा वनस्पतिको वृद्धि पनि समस्याको कारण बनेको उहाँले बताउनुभयो ।

कृत्रिम ताल निर्माण सुरु
प्राकृतिक जलस्रोत सुक्दै गएपछि निकुञ्जले कृत्रिम पानी स्रोत निर्माण थालेको छ । यस वर्ष सुखीभार र कसरा क्षेत्रमा घाँसे मैदानमा कृत्रिम पोखरी निर्माण गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश मगरका अनुसार पानीको अभाव पूर्ति गर्न सोलार प्रविधिमार्फत नजिकका खोल्साबाट पानी ‘लिफ्टिङ’ गरी कृत्रिम तालमा ल्याउने व्यवस्था गरिएको छ । यसअघि भिम्ले क्षेत्रमा निर्माण गरिएको कृत्रिम पोखरी पनि प्रभावकारी भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सम्भव भएसम्म नजिकका जलस्रोतको उपयोग गर्ने रणनीति अपनाइएको भए पनि बजेट अभावका कारण काममा चुनौती रहेको छ ।

पूर्व रेन्जर तथा हाल विश्व वन्यजन्तु कोषमा कार्यरत माधव खड्काले नयाँसँगै पुराना तालतलैयाको संरक्षण र वैकल्पिक जलस्रोत व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।