• १० चैत २०८२, मङ्गलबार

लहानका मुसहर बस्तीमा घर र शौचालयको अभाव

blog

वाटरएड संस्थाद्वारा सञ्चालन भएको खानेपानी र स्वच्छता कार्यक्रमअन्तर्गत सर्वेक्षण गरिँदै । तस्बिरः जीवछ यादव

लहान, चैत १० गते । हावा, हुरी, घाम–पानी र वर्षातको समयमा बस्नका लागि घर बनाउने ठाँउ नभएका कारण लहानका मुसहर बस्तीका धेरै परिवारहरू समस्या झेलिरहेका छन्। “शौचालय कहाँ बनाउने? रिङग त वर्षौँ अघि दिइयो, तर ठाउँ नभएको कारण शौचालय बनाएको छैन,” लहान वडा नम्बर १ का सन्तोष सदायले पीडा पोख्नुभयो।

सन्तोष सदाय जस्तै धेरै परिवारहरू खुला दिसामुक्त लहान नगरपालिकामा पनि शौचालयको अभावले खुल्ला दिसा गर्न बाध्य छन्। नगरपालिकामा खुला दिसामुक्त घोषणा भएको पाँच वर्ष बितिसकेको छ, तर मुसहर समुदायका घरमा अझै शौचालय निर्माण हुन सकेको छैन।

वाटरएड संस्थाद्वारा सञ्चालन भएको खानेपानी र स्वच्छता कार्यक्रमअन्तर्गत गरिएको सर्वेक्षणमा लहान नगरपालिकाका चार हजार २०१ घरमा शौचालय नहुँदा खुला दिसा गर्न बाध्यता परेको तथ्याङ्क देखिएको छ। अधिकांश दलित बस्तीमा जग्गा नहुँदा वा चेतनाको अभावका कारण शौचालय प्रयोगमा नआएको विकन परियोजनाका निर्देशक कविन्द्र पुडासैनीले बताउनुभयो।

लहान नगरपालिकामा करिब ५८ हजार दलित छन्, जसमध्ये आठ हजार मुसहर समुदायका सदस्य छन्। मुसहर समुदायका ९९ प्रतिशत व्यक्ति भूमिहीन भएकाले सुरक्षित आवास र शौचालय दुबैको समस्या देखिएको छ। “रिङ उपलब्ध भए पनि जग्गाको अभाव, शौचालयको लेदो फाल्ने ठाउँ नपुग्दा चाहेर पनि शौचालय निर्माण हुन सकेको छैन,” लहान–१ की सोनिया सदायले सुनाउनुभयो।

समाजसेवी शङ्करप्रसाद गुप्ताका अनुसार केवल एनजिओ र आइएनजिओका जनचेतनामूलक कार्यक्रमले शौचालय निर्माण र स्वच्छता सुनिश्चित गर्न सक्दैन। यसको लागि स्थानीय स्वास्थ्यकर्मी, विद्यालय शिक्षक र नागरिक अगुवाहरूको निगरानी समूह बनाएर निरन्तर शिक्षा र चेतना दिनु आवश्यक छ।

लहान नगरपालिकाले हाल चार हजार २१० शौचालय निर्माणका लागि विकन परियोजनासँग मिलेर अभियान सुरु गरेको छ। दलित विपन्न बस्तीमा सुरक्षित आवाससँगै शौचालय निर्माण कार्यक्रम वडा नम्बर ११, १२, १३, १५, १९, २० र २१ मा समस्या समाधान भइसकेको छ। नगरप्रमुख महेश प्रसाद चौधरीले भन्नुभयो, “लहान नगरपालिकाका २४ वटै वडामा आवश्यकताको आधारमा शौचालय र सामुदायिक शौचालय निर्माणको गृहकार्य भइरहेको छ।”