• ९ मंसिर २०८१, आइतबार
blog

काठमाडौँ, मङसिर १ गते । विगत केही महिनायता समस्याग्रस्त रहेको अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार शोधनान्तर, विदेशी विनिमय सञ्चिति तथा विपे्रषण आप्रवाहमा क्रमिक सुधार भइरहेको छ। 

लामो समय घाटामा रहेको मुलुकको शोधनान्तर स्थिति असोजसम्म आइपुग्दा बचतमा रहेको छ। प्रतिवेदनअनुसार शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपियाँले बचतमा छ। यसले मुलुकबाट बाहिरिनेभन्दा भित्रिने मुद्रा बढी रहेको देखाउँछ। गत वर्षको असोजमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड रुपियाँले घाटामा थियो।  

चालू खाता घाटामा पनि सुधार देखिएको छ। असोजसम्म मुलुकको चालू खाता ३४ अर्ब २८ करोड रुपियाँले घाटामा छ जब कि गत वर्षको सोही अवधिसम्म एक खर्ब ४९ अर्ब रुपियाँले घाटामा थियो। 

लामो समयदेखि टाउको दुखाइको विषय बनेको विदेशी मुद्राको सञ्चितिमा पनि सुधार आएको छ। प्रतिवेदनअनुसार मुलुकसँग असोजसम्म १२ खर्ब ४६ अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा सञ्चित छ। यो सञ्चिति असार मसान्तको तुलनामा २.५ प्रतिशतले बढी हो। यद्यपि अमेरिकी डलरमा भने असारको तुलनामा सञ्चिति अझै कम भएको छ। असार मसान्तसम्म नौ अर्ब ५४ करोड डलर सञ्चित रहेकामा असोजसम्म ०.६ प्रतिशतले कमी आई नौ अर्ब ४८ करोड रुपियाँ रहेको छ। 

सञ्चित विदेशी मुद्राबाट ९.६ महिनाको वस्तु र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने प्रतिवेदनले देखाएको छ। सञ्चिति घट्दा कुनै समय मुलुकको आयात क्षमता छ महिनामा मात्र सीमित भएको थियो। 

विपे्रषण आप्रवाहमा पनि राम्रो सुधार देखिएको छ। समीक्षा अवधिमा विपे्रषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ८१ अर्ब पाँच करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विपे्रषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा भने विपे्रषण आप्रवाह ७.९ प्रतिशतले बढेर दुई अर्ब १९ करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ। 

महँगी बढेको बढ्यै

अर्थतन्त्रका केही सूचकमा सुधार आए पनि आमउपभोक्ता भने मूल्य वृद्धिको मारमा परेका छन्। प्रतिवेदनले मुद्रास्फीति ७.५ प्रतिशत पुगेको देखाएको छ। जब कि गत असोजमा मुद्रास्फीति दर ४.२४ प्रतिशत मात्र थियो। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको ८.०५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ८.८५ प्रतिशतले मूल्य वृद्धि भएको छ। खाद्य समूहअन्तर्गत सबैभन्दा धेरै रेस्टुराँ तथा होटल उपसमूहको १५.९१ प्रतिशत र गैरखाद्यतर्फ यातायात उपसमूहको २१.१५ प्रतिशतले मूल्य वृद्धि भएको छ। 

क्षेत्रगत हिसाबले तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत, हिमालमा ७.०७ र काठमाडौँ उपत्यकामा ६.९३ प्रतिशतले मूल्य वृद्धि भएको प्रतिवेदनले देखाएको छ।