जयमान बुढामगर
रुकुमपूर्व, असार २३ गते । विसं. २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा रुकुमपूर्वका तीन विद्यालयको नतिजा शून्य आएको छ । गएको शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा–१०, एसइईको नतिजा सार्वजनिक गरेको थियो ।
जिल्लामा २५ वटा सरकारी र एक निजी गरी जम्मा २६ वटा माध्यमिक विद्यालय छन् । २५ वटा सरकारी विद्यालयमध्ये तीन वटा विद्यालयका विद्यार्थी अनुत्तीर्ण भएका छन् । भूमे गाउँपालिका–२ मा रहेको त्रिवेणी मावि काँक्री, भूमे–४ मा रहेको जनशक्ति मावि काँडा र सिस्ने गाउँपालिका–४ मा रहेको जनप्रिय मावि दादिङको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक गौतमले जानकारी दिनुभयो । मावि काँक्रीबाट १५ जना, मावि काँडाबाट २१ जना र मावि दादिङबाट १७ जना विद्यार्थीले एसइईको परीक्षा दिएका थिए ।
यसैगरी, जिल्लामा एक मात्र निजी मावि रहेको सिस्ने गाउँपालिका–६ रुकुमकोटस्थित हिमशिखा माविबाट पाँच जना विद्यार्थीले एसइई दिएका थिए । जसमा शतप्रतिशत विद्यार्थी नै उत्तीर्ण भएको इकाइ प्रमुख गौतमले बताउनुभयो ।
जिल्लाको २६ वटा माविबाट नियमिततर्फ नौ सय २२ जना विद्यार्थीले एसइईको परीक्षा दिएका थिए । जसमा तीन सय २५ जना विद्यार्थी अर्थात ३५.२५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी ग्रेडवृद्धि तर्फका दुई सय ६७ जनामध्ये एक सय २१ जना विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित र ग्रेडवृद्धि दुबै तर्फका गरी चार सय ४६ जना अर्थात ४०.०३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने नियमित तर्फका पाँच सय ९७ जना र ग्रेड वृद्धि तर्फका एक सय ४६ गरी जम्मा सात सय ४३ जना विद्यार्थी अनुत्तीर्ण अर्थात नग्रेडेड भएका छन् ।
दस वटा मावि रहेको सिस्ने गाउँपालिकाबाट तीन सय ६६ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । जसमा एक सय ७७ जना अर्थात ४८.३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ८ वटा मावि रहेको भूमे गाउँपालिकाबाट दुई सय ८७ जना विद्यार्थीले परीक्षा दिएकामा ७७ जना अर्थात २६.८३ प्रतिशत उत्तीर्ण भएका छन् । साथै ८ वटै मावि रहेको पुथाउत्तरगङ्गा गाउँपालिकाबाट दुई सय ६९ जना विद्यार्थीले एसईई परीक्षा दिएकामा ७१ जना अर्थात २६.३९ प्रतिशत उत्तीर्ण भएका छन् ।
कुन विद्यालयको नतिजा अब्बल
एक मात्र निजी मावि रहेको हिमशिखाबाट पाँच जनाले एसइई दिएकामा सतप्रतिशत उत्तीर्ण भइ अब्बल नतिजा ल्याएको छ। पुुथाउत्तरगंगा गाउँपालिका–७ मा रहेको जनजोति मावि जाङबाट १९ जनाले परीक्षा दिएकामा १७ जना अर्थात ८९.४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भइ दोस्रो स्थानमा आएको छ । सिस्ने गाउँपालिका–१ मा रहेको नवज्योति मावि बल्लेचउरबाट १४ जना विद्यार्थी मध्ये ११ जना अर्थात ७८.५७ प्रतिशत उत्तीर्ण भइ तेस्रो, सोही वडाकै हिमालय मावि पाखापानीबाट २२ जनामध्ये १६ जना अर्थात ७२.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण भइ सान्त्वना र सिस्ने–८ मा रहेको सानीभेरी मावि लम्पाकोटबाट १९ जनामध्ये १३ जना अर्थात ६८.२० प्रतिशत विद्यार्थी उत्तीर्ण भइ पाँचौँ स्थानमा आएको छ ।