डोटी समाचारदाता
डोटी, असार २३ गते । डोटी जिल्लाका नौ वटा स्थानीय तहको हालसम्मको बेरुजु रकम एक अर्ब २८ करोड ५० लाख रुपियाँभन्दा बढी रहेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन अनुसार डोटीका स्थानीय तहको हालसम्मको बेरुजु रकम एक अर्ब २८ करोड ५० लाख ३० हजार ५८९ रहेको छ । नौ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु रकम शिखर नगरपालिकाको २६ करोड १० लाख २९ हजार २७६ रुपियाँ बेरुजु रहेको छ ।
आव २०७९/८० सम्म शिखर नगरपालिकाको बेरुजु २२ करोड एक लाख ६८० रहेकामा २०८०/८१ मा चार करोड नौ लाख २८ हजार ५९६ थप भएको मलेपको प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखाको प्रतिवेदन अनुसार डोटीका अन्य आठ वटा पालिकामध्ये केआइसिंह गाउँपालिकाको बेरुजु कम छ । केआइसिंह गाउँपालिकाको आव २०८०/८१ सम्ममा जम्मा बेरुजु रकम सात करोड २७ लाख दुई हजार ५१२ पुगेको छ ।
यसै गरी दिपायल सिलगढी नगरपालिकाको आठ करोड २५ लाख २२ हजार ९५३, बोगटान फुड्सिल गाउँपालिकाको १५ करोड ४५ लाख ३७ हजार ७७५, पूर्वीचौकी गाउँपालिकाको १३ करोड पाँच लाख ५२ हजार ४४९, सायल गाउँपालिकाको, १२ करोड २३ लाख ३२ हजार ३१०, जोरायल गाउँपालिकाको १७ करोड १० लाख ९८ हजार ३३३, बडीकेदार गाउँपालिकाको १७ करोड ५३ लाख ४० हजार ९८८, आदर्श गाउँपालिकाको ११ करोड ४९ लाख १३ हजार ९९३ रुपियाँ बेरुजु देखिएको छ ।
महालेखाको प्रतिवेदन अनुसार स्थानीय तहमा असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की बेरुजु रहेको देखाएको छ । नियमित गर्नुपर्ने बेरुजुको राशि धेरै छ । नियमित गर्नुपर्ने बेरुजु अन्तर्गत जिम्मेवारी नसारेको, कागज प्रमाण पेस नभएको सोधभर्ना नलिएको बेरुजु देखाएको छ ।
स्थानीय तहमा लामो समयदेखि सुशासनको क्षेत्रमा काम गरिरहनुभएका रामहरि ओझाका अनुसार स्थानीय तहमा निर्णय गर्दा कानुनको अध्ययन नगरेरै निर्णय गर्ने, आएको बेरुजुको वर्गीकरण गरेर जिम्मेवारी बाँडफाँट गरेर बेरुजु घटाउनतर्फ नलाग्ने लगायतका कार्यले गर्दा बेरुजु घट्न सकेको छैन ।
महालेखा प्रतिवेदनमा उल्लेख भएको बेरुजुलाई गम्भीरतापूर्वक लिएर बेरुजु फस्र्योट गर्नेभन्दा पनि जनप्रतिनिधिले कर्मचारी र कर्मचारीले जनप्रतिनिधिलाई दोषारोपण गर्ने परिपाटीका कारण पनि बेरुजु रकम घट्न नसकेको उहाँले बताउनुभयो । जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले ठुला निर्माणका कामको जिम्मा लिएका निर्माण व्यवसायीले समयमै पेस्की फस्र्योट नगर्दा महालेखाले बेरुजु देखाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विद्यालय भवन र सडकमा धेरै रकम खर्च गरेका थियौँ । निर्माण व्यवसायीले समयमै पेस्की फस्र्योट नगरेका कारण बेरुजु देखियो । गत आवदेखि नै हामी बेरुजु घटाउने क्रममा लागेका छौँ ।”
डोटीको जोरायल गाउँपालिकाबाहेक आव अन्य कुनै पनि स्थानीय तहले बेरुजु घटाउने प्रयास गरेको देखिएको छैन । जोरायल गाउँपालिकाले आव २०८०/८१ मा विगत वर्षसम्मको बेरुजु १५ करोड ८९ लाख ३६ हजार ७० रुपियाँबाट सम्परीक्षणमार्फत ११ लाख ४७ हजार ८१० रुपियाँ घटाएको देखिन्छ ।