विनय कर्ण
कल्याणपुर (सप्तरी), असार २३ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ कोशी ब्यारेजस्थित कोशी पश्चिमी सिँचाइ नहरमा एक पुरुषको शव फेला परेको छ ।
आइतबार साँझ नाम ठेगाना नखुलेको अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।
त्यहाँस्थित पश्चिमी सिँचाइ नहरमा फलामको ढोकामा अड्की मृत अवस्थामा पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले शव बाहिर निकाली आवश्यक प्रक्रिया गरी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
शव पोष्ट मार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।