• १३ असोज २०८१, आइतबार

भेटिएन करको लक्ष्य

blog

काठमाडौँ, मङ्सिर २ गते । कात्तिकमा लक्ष्यको ८१ प्रतिशत मात्रै कर राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व विभागका अनुसार कात्तिकमा ३५ अर्ब ९२ करोड ३८ लाख रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखिएकामा २९ अर्ब पाँच करोड ७८ लाख रुपियाँमा सङ्कलन भएको हो । 

विभागका अनुसार कात्तिकमा अन्तःशुल्क (आन्तरिक)बाहेक कुनै पनि कर शीर्षकको लक्ष्य पूरा भएको छैन । विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार कात्तिकमा नौ अर्ब ८१ करोड ६८ लाख रुपियाँ आयकर सङ्कलन गर्ने लक्ष्य तोकिएकामा सात अर्ब ४२ करोड ४२ लाख रुपियाँ मात्र सङ्कलन भएको छ । 

त्यस्तै दस अर्ब ८० करोड २५ लाख रुपियाँ मूल्य अभिवृद्धि कर सङ्कलनको लक्ष्य सात अर्ब ४४ करोड ४९ लाख रुपियाँमा सीमित भएको छ । 

अन्तःशुल्क भने विभागले लक्ष्यभन्दा बढी सङ्कलन गर्न सफल भएको छ । आठ अर्ब १३ करोड ६५ लाख रुपियाँ अन्तःशुल्क सङ्कलनको लक्ष्य रहेकामा कात्तिकमा मात्रै आठ अर्ब ३९ करोड १७ लाख रुपियाँ सङ्कलन भएको विभागले जनाएको छ । त्यस्तै छ अर्ब ४६ करोड १८ लाख रुपियाँ ब्याज आम्दानी गर्ने लक्ष्य रहेकामा पाँच अर्ब १५ करोड ९४ लाख रुपियाँ प्राप्त भएको छ । 

घरभाडा कर लक्ष्यको ८५ प्रतिशत सङ्कलन भएको छ । १४ करोड ४६ लाख रुपियाँ घरभाडा कर उठाउने लक्ष्य रहेकामा १२ करोड ३६ लाख रुपियाँ मात्र सङ्कलन भएको छ । स्वास्थ्य सेवा कर कात्तिकमा ४१ करोड रुपियाँ सङ्कलन भएको छ । 

विभागले ४२ करोड ७५ लाख रुपियाँ स्वास्थ्य सेवा कर सङ्कलन गर्ने लक्ष्य राखेको थियो । त्यस्तै शिक्षा कर शीर्षकमा विभागले १० करोड ३८ लाख रुपियाँ सङ्कलन गरेको छ जब कि कात्तिकमा १३ करोड ३८ लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो । 

कर सप्ताह सुरु

आन्तरिक राजस्व विभागले बिहीबारदेखि एक हप्तासम्म कर सप्ताह सुरु भएको जनाएको छ । 

राष्ट्रिय कर दिवसका अवसरमा बिहीबार विभागको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कर सप्ताहका विभिन्न कार्यक्रम घोषणा गरिएको हो । जसअनुसार मङ्सिर १ देखि ६ गतेसम्म विभागले निर्वाचन आचारसंहिताभित्र रहेर निजी क्षेत्रका सङ्घसंस्थासँग समन्वय गरी कर शिक्षालगायतका कार्यक्रम सञ्चालन गर्ने विभागले जनाएको छ । 

त्यस्तै मङ्सिर ७ गते राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन समारोह आयोजना गरेर उत्कृष्ट करदाता सम्मान गर्ने विभागको योजना छ । नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको मितिलाई आधार मानेर हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाइँदै आएको छ । यस वर्षको कर दिवसका लागि विभागले ‘स्वैच्छिक सहभागितासहितको कराधार : दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नारा तय गरेको छ ।