‘नेपालका देवी देवताहरू’ विषयक कला प्रदर्शनी सुरु भएको छ । नेपाल कला परिषद्को ६०औँ तथा नेपाल हस्तकला महासङ्घको ५०औँ वार्षिकोत्सवका अवसरमा सोमबार भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले प्रदर्शनी उद्घाटन गर्नुभयो । कार्यक्रममा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्य, कला परिषद्का अध्यक्ष सागरशमशेर जबरा, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जरी शाक्य, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोललगायतको उपस्थिति थियो । प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा मङ्सिर २४ सम्म चल्नेछ ।
समाज सुधारक बालागुरु षडानन्दको १८८औँ जयन्तीका अवसरमा विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत तथा सम्मानित गरिएको छ । १५औँ स्थापना दिवसका अवसरमा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँद्वारा सोमबार आयोजित पुरस्कार अर्पण समारोहमा षडानन्द राष्ट्रिय पुरस्कार, राष्ट्रिय समाज सेवा पुरस्कार, षडानन्द क्षेत्रीय पुरस्कार क्रमशः वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ (ललितपुर), परोपकार संस्था (काठमाडौँ) र दुर्गाप्रसाद अधिकारी (भक्तपुर)लाई अर्पण गरियो । पुरस्कारको राशि क्रमशः एक लाख, एकाउन्न हजार र एकाउन्न हजार रुपियाँ रहेको छ । परोपकार संस्थाका अध्यक्ष हितकरवीरसिंह कंसाकारले पुरस्कार ग्रहण गर्नुभयो ।
गत असार,साउन र भदौ महिनाका वर्षात्ले राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप्ती नदीको बाढीले १३.७ किलोमिटर क्षेत्रफलमा क्षति बनाएको बताएको छ ।
नेपाल विद्युत् प्राधिकरणले मधेश प्रदेशमा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण लाइन निर्माण गर्ने भएको छ । सन् २०५० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएका ती प्रसारण लाइन बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायत जिल्लाका दक्षिणी भेगको अहिले र पछि हुने माग पूरा गर्न निर्माण गर्न लागेको हो । बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब तीन हजार दुई सय र जनकपुर क्षेत्रमा आठ सय मेगावाट विद्युत् खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिनेछन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२३ मा कृषि तथा पशुपालनका लागि छ हजार कामदारको माग आएकाले पुस ४ देखि ८ गतेसम्म आवेदन दिन सक्ने गरी आवेदन माग गरेको हो ।
मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ ।
गुल्मीमा ५० जना उम्मेदवारको जमानत जफत भएको छ । मङ्सिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा यस जिल्लामा ६२ जना उम्मेदवारले भाग लिएका थिए । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा ५० जना उम्मेदवारको जमानत जफत भएको हो ।
निर्वाचन आयोगले स्याङ्जा र बाजुराको विवादित मतदान केन्द्रबारे निर्णय गर्न नसक्दा मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका प्रभावित भएको छ। निर्वाचन आयोगले मङ्सिर १२ गतेभित्र निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको थियो। आयोगका अनुसार सोमबारसम्म १५३ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ। नौ निर्वाचन क्षेत्रको गणना हुँदै छ। दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। तर स्याङ्जा र बाजुराको विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने वा यथास्थितिमै गणना गर्नेसम्बन्धमा आयोगले निर्णय गर्न ढिलाइ गर्दा मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका प्रभावित भएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विवादित दुई जिल्लाको निर्णयसमेत छिट्टै आउने दाबी गर्नुभयो। आयोगले मङ्सिर ७ गतेभित्र प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने)तर्फका सबै र मङ्सिर १२ गतेभित्र समानुपातिकतर्फको सबै निर्वाचन क्षेत्रको गणना गर्ने आन्तरिक कार्यतालिका बनाएको थियो। त्यसैगरी मङ्सिर २० गतेभित्र मतपरिणामको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने कार्यक्रम तय गरेको थियो।
विभिन्न कार्यक्रम आयोजना गरी विश्व सहर दिवस–२०७९ र विश्व सहरी योजना दिवस–२०७९ मनाइएको छ। यस वर्ष यो दिवसको नारा ‘दिगो विकासका लागि स्थानीय प्रयास’ तय गरिएको छ। सहरी विकास तथा भवन निर्माण विभागद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पीताम्बर शर्माले मुलुकमा पद्धति र व्यवस्थापकीय क्षमता विकास हुन नसक्दा सोचेजस्तो सहरी पूर्वाधारको विकास हुन नसकेको बताउनुभयो। भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले ठूला, अग्ला भवन र चौडा सडक नै सहरी विकासको मापदण्ड हुन नसक्ने भन्दै प्रदूषणरहित, सुरक्षित र व्यवस्थित सहर निर्माण आजको
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मतदान, मतगणना र प्रमाणपत्र दिँदा निर्वाचन अधिकृतहरूबाट अनियमितता भएको भन्दै निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन। एमालेले सोमबार १० बुँदे ध्यानाकर्षणपत्र निर्वाचन आयोगलाई बुझाएको हो। एमालेका महासचिव शङ्कर पोखरेलले आयोगलाई बुझाएको ध्यानाकर्षणमा सत्तापक्षबाट दोलखा, बाजुरा र स्याङ्जामा बुथ कब्जा भएका सबै ठाउँमा पुनः मतदान गराउन माग गरिएको छ।
पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह एच अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा सोमबार राति भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोलले हरायो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य क्षेत्रमा अझै परिवर्तन हुन नसकेको बताउनुभएको छ। आफूले सोचेजस्तो काम गर्न नसकेको भन्दै उहाँले स्वास्थ्य क्षेत्रमा अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा सोमबार यहाँ आयोजित ‘राष्ट्रिय संयुक्त वार्षिक समीक्षा’ बैठकलाई सम्बोधन गर्दै मन्त्री खापुङले देशको राजनीतिक अवस्था देखेर आफू निर्वाचनमा नउठेको बताउनुभयो। “जनअपेक्षा धेरै हुन्छ, जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकिने रहेछ, त्यसैले मैले यस पटक निर्वाचनमा उम्मेदवारी दिइन,” उहाँले भन्नुभयो। आफूले टिकट पाउने निश्चित हुँदाहुँदै पनि देश र राजनीतिक अवस्थाले गर्दा मलाई टिकट चाहियो भनी माग्दै नहिँडेको उहाँले दाबी गर्नुभयो।
काठमाडौँ महानगरपालिका (कामपा)ले प्रसिद्ध बागमती नदीकिनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउन सुरु गरेपछि सोमबार थापाथली क्षेत्रमा तनाव भएको छ । कामपाको नगरप्रहरी अवैध बस्ती हटाउन सोमबार डोजरसहित थापाथलीस्थित सुकुम्बासी बस्तीमा पुगेपछि स्थानीयले नगरप्रहरीमाथि घरेलु हतियारसहित ढुङ्गामुढा गरेका थिए ।
नारायणी सिँचाइ व्यवस्थापन डिभिजन ब्लक–२ र १० को नहर निर्माण गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन इन्जिनियर विभागका प्रमुख मोहन झासहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। काम पूरा नभई उपभोक्ता समितिलाई नक्कली बिल बनाएर रकम निकासा गरेको आरोपमा झासहित तत्कालीन लेखा अधिकृत मुरारीप्रसाद आचार्य, ब्लक नम्बर–२ हरिहरपुर बिर्ता पर्साका अध्यक्ष कुसुमदेवी कलवार, कोषाध्यक्ष राजकिशोर प्रसादविरुद्ध पनि मुद्दा दायर गरेको छ।
छिमेकी मुलुक चीनमा कोभिड–१९ को सङ्क्रमणले मानिसको मृत्यु हुन थालेपछि विश्वभर फेरि महामारी फैलने आशङ्का बढ्न थालेको छ। अहिले चीनमा दोहोरिएको कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको बताइएको छ। चिनियाँ सञ्चारमाध्यम सिजिटिएनका अनुसार चीनमा कोभिड सङ्क्रमण दिनानुदिन बढ्दो क्रममा छ। एक साताभित्र चीनमा तीन हजार ८२२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये तीन हजार ७४८ जनामा स्थानीयको सङ्क्रमण बल्झिएको हो भने बाँकी ७४ जनामा विदेशबाट आएकाबाट सङ्क्रमण फैलिएको जनाइएको छ। हालसम्म तीन लाख ४२ हजार ४८८ जना मेडिकल अनुगमनका क्रममा रहेका छन्।