• १३ असोज २०८१, आइतबार

चीनमा दोहोरियो कोभिड सङ्क्रमण

blog

काठमाडौँ, मङ्सिर १३ गते । छिमेकी मुलुक चीनमा कोभिड–१९ को सङ्क्रमणले मानिसको मृत्यु हुन थालेपछि विश्वभर फेरि महामारी फैलने आशङ्का बढ्न थालेको छ। अहिले चीनमा दोहोरिएको कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको बताइएको छ। 

चिनियाँ सञ्चारमाध्यम सिजिटिएनका अनुसार चीनमा कोभिड सङ्क्रमण दिनानुदिन बढ्दो क्रममा छ। एक साताभित्र चीनमा तीन हजार ८२२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये तीन हजार ७४८ जनामा स्थानीयको सङ्क्रमण बल्झिएको हो भने बाँकी ७४ जनामा विदेशबाट आएकाबाट सङ्क्रमण फैलिएको जनाइएको छ। हालसम्म तीन लाख ४२ हजार ४८८ जना मेडिकल अनुगमनका क्रममा रहेका छन्। 

सन् २०१९ को डिसेम्बर ३० मा चीनको वुहान प्रान्तमा विश्वमै पहिलो पटक कोभिड–१९ को सङ्क्रमित फेला परेको थियो। त्यसपछि नेपालसहित विश्वका विभिन्न मुलुक सन् २०२२ को मध्यसम्म कोभिड सङ्क्रमणले आक्रान्त बने। चीनले कडा बन्दाबन्दीको अवलम्बन गरेर मृत्युदर उच्च रूपमा घटाउन सफल भएको थियो तर त्यसले आमजनताको जीवनशैली र आर्थिक उत्पादनमा परेको नकारात्मक असरले सरकारप्रति निराशा पैदा गराएको थियो। 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड महामारी बल्झने सम्भावना कायमै रहेकाले यसका विरुद्धको अभियान जारी राख्नुपर्नेहुन्छ। उसका अनुसार हालसम्म विश्वमा ६६ लाख छ हजार ६२४ जनाको कोभिडका कारण ज्यान गइसकेको छ। त्यस्तै विश्वको कुल जनसङ्ख्यामध्ये ६३ करोड ६४ लाख ४० हजार ६६३ जनाले कोभिडको सङ्क्रमण झेलेका छन्। कोभिडविरुद्धको खोपको समतामूलक पहुँच हालसम्म कायम हुन नसकेको सङ्गठनले स्वीकार गरेको छ। हालसम्म सङ्गठनका १९४ सदस्य मुलुकमध्ये ५८ मुलुकले मात्र ७० प्रतिशत खोप प्रदान गर्ने लक्ष्य पूरा गरेका छन्। कम आय भएका धेरै मुलुकमा स्वास्थ्यकर्मीले पनि खोप पूरा लगाउन पाएका छैनन्। 

चीनमा बन्दाबन्दीविरुद्ध प्रदर्शन

चीनमा गरिएको बन्दाबन्दीविरुद्ध चर्को विरोध सुरु भएको छ। राजधानी बेइजिङमा एक साता अघिदेखि कोभिड सङ्क्रमण बल्झिएको हो। अघिल्लो शनिबारपछि लगातार कोभिडबाट मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी हुन थालेपछि त्यहाँको सरकारले कडा बन्दाबन्दीको नीति अवलम्बन गरेको थियो तर त्यही बन्दाबन्दीकैबीच एक अपार्टमेन्टमा भएको आगलागीमा परेर १० जनाको ज्यान गएपछि सरकारी नीतिविरुद्ध प्रदर्शनी थप चर्किएको हो। बन्दाबन्दीका कारण आगो निभाउन र उद्धार कार्यमा ढिलाइ भएको आक्रोश प्रदर्शनीमा पोखिरहेका छन्। 

सरकार विरोधी गतिविधि दबाउने प्रयत्न भइरहे पनि प्रत्यक्ष सडकमा उत्रिएर प्रदर्शन गर्नेहरूको भीड बढेको बीबीसीले जनाएको छ। सरकारविरुद्ध चीनमा भएको यस्तो प्रदर्शन यसअघि नदेखिएको टिप्पणी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन्।