• १३ असोज २०८१, आइतबार

निर्वाचन अधिकृतहरूबाट अनियमितता भएको आरोप

blog

काठमाडौँ, मङ्सिर १३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मतदान, मतगणना र प्रमाणपत्र दिँदा निर्वाचन अधिकृतहरूबाट अनियमितता भएको भन्दै निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन। 

एमालेले सोमबार १० बुँदे ध्यानाकर्षणपत्र निर्वाचन आयोगलाई बुझाएको हो। एमालेका महासचिव शङ्कर पोखरेलले आयोगलाई बुझाएको ध्यानाकर्षणमा सत्तापक्षबाट दोलखा, बाजुरा र स्याङ्जामा बुथ कब्जा भएका सबै ठाउँमा पुनः मतदान गराउन माग गरिएको छ। 

बुथ कब्जा भएका सबै मतदान केन्द्रको विवरणसहितको एमालेले निर्वाचनमा पराजयको डर भएपछि उदयपुर क्षेत्र नम्बर १ र सुनसरी क्षेत्र नम्बर ४ मा मतगणनामा अवरोध गरिएको तथा धनुषा क्षेत्र नम्बर २ मा मतगणना सदर हुनुपर्ने मत बदर गरिएकाले पुनः गणनाको माग गरिएको छ। 

काभ्रे जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को मधेश प्रदेशमा सदर मतलाई बदर गरेर तीन मतले एमाले उम्मेदवार पराजित भएकाले पुनः गणना गर्न एमालेले माग गरेको छ। 

चुनाव जितिसकेका पाँचथरका एमाले उम्मेदवार वसन्त नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र नदिई रोक्ने कुराले सत्ता गठबन्धन धाँधली गर्ने तयारीमा रहेको शङका सिर्जना भएको समेत एमालेले जनाएको छ। मतगणनामा निर्वाचन क्षेत्रअनुसार मत बदर र सदर सम्बन्धमा फरक–फरक मापदण्ड अपनाउने, निर्वाचित भएको व्यक्तिलाई  कसैलाई प्रमाणपत्र तत्काल दिने र कसैलाई नदिई राख्ने कार्य पूर्णतः कानुन प्रतिकूल रहेको ध्यानकर्षणपत्रमा उल्लेख छ। 

प्रत्यक्षतर्फ र समानुपातिकमा प्रत्येक निर्वाचन क्षेत्रबाट प्राप्त समानुपातिकतर्फको मत एमालेलाई उपलब्ध गराई कुल योगफल ठीक भएको/नभएको हेर्न सकिने गरी पारदर्शिता अपनाउने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई एमालेले अनुरोध गरेको छ।