• १३ साउन २०८१, आइतबार

मधेशमा प्रसारण सञ्जाल विस्तार गरिँदै

blog

काठमाडौँ, मङ्सिर १३ गते । नेपाल विद्युत् प्राधिकरणले मधेश प्रदेशमा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण लाइन निर्माण गर्ने भएको छ । 

सन् २०५० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएका ती प्रसारण लाइन बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायत जिल्लाका दक्षिणी भेगको अहिले र पछि हुने माग पूरा गर्न निर्माण गर्न लागेको हो । 

बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब तीन हजार दुई सय र जनकपुर क्षेत्रमा आठ सय मेगावाट विद्युत् खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिनेछन् । 

हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेसन निर्माण गरिने प्राधिकरणले जनाएको छ । चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारण लाइन कोरिडोरको निर्माण गरिनेछ । अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सबस्टेसन रहने स्थान तय गर्ने काम भइरहेको छ । 

प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि ५० अर्ब रुपियाँभन्दा बढी लाग्ने जनाइएको छ । यो रकम नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी, भारतको एक्जिम बैङ्क, एसियाली विकास बैङ्कलगायतको सहुलियतपूर्ण ऋणबाट जुटाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उद्धृत गर्दै प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, परामर्शदाता सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार प्रस्तावित लाइन निर्माण स्थलको स्थलगत अनुगमन भ्रमण गरी चार सय र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत् माग तथा खपतको अवस्थालगायतका विषयमा जानकारी लिएको छ । 

पहिलो चरणमा खपत वृद्धिका लागि तत्काल आवश्यक पर्ने प्रसारण लाइन र सबस्टेसन, दोस्रो चरणमा दक्षिण कोरिडोर मुख्य लाइन र तेस्रो चरणमा अन्तरदेशीय विद्युत् व्यापारका लागि क्रसबोर्डर प्रसारण लाइन निर्माण गर्ने योजना प्राधिकरणको छ । 

बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी पर्साको पोखरिया र बाराको निजगढमा चार सय केभीको सबस्टेसन निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । त्यही चार सय केभी लाइनलाई हुलाकी राजमार्गको समानान्तर रूपमा जनकपुरतिर विस्तार गरिनेछ । बाराको प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण गरिएको छ । जनकपुर क्षेत्रको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन धनुषाको ढल्केबरबाट महोत्तरीको लोहरपट्टीसम्म १३२ केभी सबस्टेसन निर्माण भइरहेको छ । लोहरपट्टीमा १३२ केभी सबस्टेसन निर्माणाधीन छ । यसैगरी ढल्केबर–बालगङ्गा १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ ।