• १२ साउन २०८१, शनिबार

बागमती किनारका बस्ती हटाउँदा तनाव

blog

काठमाडौँ, मङ्सिर १३ गते । काठमाडौँ महानगरपालिका (कामपा)ले प्रसिद्ध बागमती नदीकिनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउन सुरु गरेपछि सोमबार थापाथली क्षेत्रमा तनाव भएको छ । कामपाको नगरप्रहरी अवैध बस्ती हटाउन सोमबार डोजरसहित थापाथलीस्थित सुकुम्बासी बस्तीमा पुगेपछि स्थानीयले नगरप्रहरीमाथि घरेलु हतियारसहित ढुङ्गामुढा गरेका थिए । 

स्थानीयको आक्रमणबाट नगरप्रहरी बलका प्रमुख राजु पाण्डेसहित १७ जना नगरप्रहरीहरू घाइते भएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिनुभयो ।

सुकुम्बासी बस्ती हटाउने क्रममा स्थानीयले महानगर प्रहरी बलमाथि भौतिक आक्रमण सुरु गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी टोलीसमेत परिचालन गरिएको थियो । बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सो सुकुम्बासी बस्ती हटाउन सूचना जारी गरेको थियो । तोकिएको समयभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजरसहित सुकुम्बासी बस्तीमा पुगेको थियो । कामपाका प्रवक्ता नवीन मानन्धरले ठूलो सङ्ख्यामा स्थानीय प्रदर्शनमा उत्रिएपछि महानगर प्रहरीबल बस्तीतर्फ नगई आवश्यक तयारीका लागि फिर्ता गरिएको जानकारी दिनुभयो ।  

काठमाडौँको प्राचीन सभ्यताका रूपमा रहेका बागमती, विष्णुमतीलगायतका नदीकिनारमा वर्षौंदेखि अवैध बस्ती र संरचना रहँदा सहरको सुन्दरता र नदीको स्वच्छतामा समेत ह्रास आउँदै गएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गत कात्तिक २४ गते १० दिनको म्यादसहित ४ मङ्सिरसम्म अन्तिम म्याद राखी बस्ती खाली गर्न सूचना जारी गरेको थियो । 

सो दिन निर्वाचनको समय रहेकाले थप एक हप्ताको समयमा समेत बस्ती खाली नभएपछि नदीकिनारमा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारीसाधन हटाउन महानगरको टोली सुकुम्बासी बस्तीमा पुगेको थियो ।

कामपा नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार स्थानीयले भौतिक आक्रमण गर्न थालेपछि कामपाबाट झन्डै दुई सय जना र नेपाल प्रहरीबाट एक सय जनाको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो  । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले महानगरपालिकाको आग्रहमा नेपाल प्रहरीबाट थप सुरक्षाकर्मी परिचालन गरिएका जानकारी दिनुभयो ।  सुकुम्बासीहरूले बस्ती हटाउन आएका सुरक्षाकर्मीमाथि स्थानीयले ढुङ्गा प्रहार गरी आगजनी र लाठी, चुलेसी, खुकुरी आदिजस्ता घरेलु हातहतियार बोकेर प्रतिकारमा उत्रिएपछि महानगर प्रमुख बालेन्द्र साह आवश्यक छलफलमा जुट्नुभएको छ । सोमबार प्रमुख साहले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत छलफल गर्नुभएको थियो ।

भूमि अधिकार तथा श्रमिक सङ्गठनका महासचिव इन्द्र तामाङले भूमिहीन बासिन्दालाई विकल्पबिना घरबारविहीन बनाउन नहुने बताउँदै आन्दोलन गर्नुपरेको बताउनुभयो । महानगर प्रहरीले अवैध संरचना हटाउने भएपछि केही स्थानीयले भने बसाइँसराइ गर्ने तयारी गरेका छन् ।