• १३ असोज २०८१, आइतबार

स्वास्थ्य क्षेत्रमा अझै भएन परिवर्तन

blog

भक्तपुर, मङ्सिर १३ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य क्षेत्रमा अझै परिवर्तन हुन नसकेको बताउनुभएको छ। आफूले सोचेजस्तो काम गर्न नसकेको भन्दै उहाँले स्वास्थ्य क्षेत्रमा अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा सोमबार यहाँ आयोजित ‘राष्ट्रिय संयुक्त वार्षिक समीक्षा’ बैठकलाई सम्बोधन गर्दै मन्त्री खापुङले देशको राजनीतिक अवस्था देखेर आफू निर्वाचनमा नउठेको बताउनुभयो। “जनअपेक्षा धेरै हुन्छ, जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकिने रहेछ, त्यसैले मैले यस पटक निर्वाचनमा उम्मेदवारी दिइन,” उहाँले भन्नुभयो। आफूले टिकट पाउने निश्चित हुँदाहुँदै पनि देश र राजनीतिक अवस्थाले गर्दा मलाई टिकट चाहियो भनी माग्दै नहिँडेको उहाँले दाबी गर्नुभयो। 

स्वास्थ्यमन्त्री खापुङले अहिले पनि सरकार कसले बनाउने भन्ने विषयमा चर्चा सुरु भएको बताउँदै अहिलेको निर्वाचन परिणामले देशको हित गर्न नसक्ने दाबी गर्नुभयो। 

रोग लागेपछि उपचार गर्न नसक्ने नागरिक अझै धेरै रहेको भन्दै उहाँले विपन्न नागरिकका लागि स्वास्थ्यको पहुँचमा पुग्न नसकेको उल्लेख गर्नुभयो। मिर्गौला उपचारमा नागरिकले केही राहत पाए पनि क्यान्सर र मुटु रोगमा विपन्न नागरिकलाई दिइने सहुलियत रुकम कम भएको उहाँको भनाइ छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मुटु तथा क्यान्सर उपचारमा विपन्नलाई दिइने सुविधा कम भएको बताउनुभयो। हाल विपन्न नागरिकलाई क्यान्सर र मुटुरोग उपचारमा एक लाख रुपियाँबराबरको स्वास्थ्य सुविधा पाउने गरेका छन्। 

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्यले लिएको लक्ष्य, सूचक र रणनीतिहरू पूरा हुँदै गएको बताउनुभयो। राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशङ्कर प्रसादले स्वास्थ्य क्षेत्रलाई उपचारसँग मात्र नजोडेर राष्ट्रको अर्थसँग जोड्नुपर्ने बताउनुभयो। उहाँले नेपालमा हेल्थ टुरिजमको सम्भावना रहेको भन्दै हेल्थ टुरिजमको विकास भएमा राज्यलाई फाइदा हुने बताउनुभयो। 

मङ्गलबारसम्म सञ्चालन हुने यस समीक्षा बैठकमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा महाशाखा, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्घीय अस्पतालहरूले एक वर्षमा सम्पन्न गरेका काम, उपलब्धि र समस्याबारे छलफल हुने जनाइएको छ।