• १३ असोज २०८१, आइतबार

मनाइयो विश्व सहर दिवस

blog

काठमाडौँ, मङ्सिर १३ गते । विभिन्न कार्यक्रम आयोजना गरी विश्व सहर दिवस–२०७९ र विश्व सहरी योजना दिवस–२०७९ मनाइएको छ। यस वर्ष यो दिवसको नारा ‘दिगो विकासका लागि स्थानीय प्रयास’ तय गरिएको छ।

सहरी विकास तथा भवन निर्माण विभागद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पीताम्बर शर्माले मुलुकमा पद्धति र व्यवस्थापकीय क्षमता विकास हुन नसक्दा सोचेजस्तो सहरी पूर्वाधारको विकास हुन नसकेको बताउनुभयो। भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले ठूला, अग्ला भवन र चौडा सडक नै सहरी विकासको मापदण्ड हुन नसक्ने भन्दै प्रदूषणरहित, सुरक्षित र व्यवस्थित सहर निर्माण आजको आवश्यकता भएको धारणा राख्नुभयो। बिनातयारी नागरपालिका घोषणा हुनु सहरी विकासको मुख्य समस्या भएको बताउँदै उहाँले जनताका आधारभूत आवश्यकता खानेपानी, ढल निकास, डम्पिङसाइट, बसपार्क, खुला क्षेत्र, हरियाली क्षेत्र, पोखरी, दमकल, तरकारी बजारलगायतका आवश्यक पूर्वाधार निर्माणपछि मात्रै नगरपालिकाको घोषणा गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो। 

यस दिवस मूल तयारी समितिका संयोजक तथा सहसचिव पद्मकुमार मैनालीले यो दिवस हरेक वर्ष नोभेम्बर ८ मा मनाइँदै आएकोमा नेपालले यो वर्ष चाडपर्व र चुनावका कारण केही ढिला गरी आयोजना गरिएको बताउनुभयो। “दिगो विकासका लक्ष्य हासिल गर्न सहरी विकासतर्फको हाम्रो दृष्टिकोण पुनर्विचार गर्नुपर्ने र स्थानीय प्रयास अत्यन्त जरुरी देखिएको र यसका लागि यससँग सम्बन्धित साझेदार तथा सरोकारवालाको अनुभव र दृष्टिकोणलाई समेटेर अगाडि बढ्नुपर्ने आवश्यकता छ,” उहाँले भन्नुभयो। सन् १९५० मा विश्वको कुल जनसङ्ख्याको २५ प्रतिशत सहरी जनसङ्ख्या रहेकोमा सन् २०५० सम्ममा यो जनसङ्ख्या ६८ प्रतिशत पुग्ने उहाँले बताउनुभयो।