सोमबारदेखि देशका सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट अनलाइनमार्फत सबै खाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको छ। कर्णाली प्रदेश सुर्खेत र सुदूरपश्चिम प्रदेश धनगढीमा संस्थागत र व्यक्तिगत अनलाइन श्रम स्वीकृतिको परीक्षण सफल भएसँगै सातै प्रदेशका कार्यालयबाट सबै खाले श्रम स्वीकृति अनलाइनबाटै प्रदान हुन थालेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सुर्खेत र धनगढीमा रहेका श्रम कार्यालयबाट समेत श्रम स्वीकृति प्रदान गर्ने व्यवस्थाको शुभारम्भ गर्नुभयो।
बोलीचालीको भाषामा आमाशयलाई पेट भनिन्छ । अझ थप प्रस्टताका लागि आममानिसले पाठेघरलाई तल्लो पेट भनेर बुझ्ने हुनाले आमाशयलाई सायद माथिल्लो पेट भन्नु उपयुक्त होला ।
माटोको मूर्ति कालिगडहरू अहिले दिनभर ब्यस्त भएका छन्। सहरदेखि ग्रामीण भेगका कालिगडहरूले माघ १२ गते हुने सरस्वती पूजाका लागि सरस्वतीको मूर्ति बनाउन र सजाउन व्यस्त भएका हुन्। सिजनअनुसार विश्वकर्मा, दुर्गा, गणेश, सरस्वतीका मूर्ति बनाएर लाखौँ रुपियाँसम्म आम्दानी गर्ने गरेको सिम्रौनगढ नगरपालिका–११, कर्चोवा टोलका १७ वर्षीय निरञ्जनकुमार साह कानुले बताउनुभयो। गाउँमै भएको महायज्ञमा मूर्ति बनाउन बाहिरबाट आएका मूर्तिकारबाट सीप सिकेर आफूले पनि देवीदेवताको मूर्ति बनाउन थालेको कानुले बताउनुभयो। दुई जना दाजुको सहयोगमा बनाएको ४० वटा सरस्वतीको मूर्तिबाट साढे दुई लाख रुपियाँ कमाउने लक्ष्य लिएको उहाँको भनाइ छ। कानुले भन्नुभयो, “एक हजार पाँच सयदेखि सात हजार रुपियाँमा मूर्ति बिक्री गर्ने सम्झौता भइसकेको छ।”
सर्लाहीको उत्तर–पूर्वी भेगस्थित ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरमा अज्ञात मानिसहरू गाउँमा आएर एक्कासि जग्गा नापजाँच गर्न थालेपछि स्थानीयले उनीहरूलाई पक्राउ गरी प्रहरीमा बुझाएका छन्। भूमिसुधार र नापी कार्यालयको अभिलेखमा खयरमाराखोर भनी उल्लेख रहेको कालिञ्जोरस्थित दोङखोरिया क्षेत्रमा जग्गा नाप गर्न आएका सात जनालाई गाउँलेहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्। आफूहरूले तीन पुस्तादेखि भोगचलन गर्दै आइरहेको ऐलानी जग्गा एक्कासि देख्दै नदेखेको मानिस आएर जग्गा नाप्ने, फोटो खिच्ने, भिडियो बनाउनेजस्ता गतिविधि गर्न थालेपछि स्थानीयहरू भेला भएर नियन्त्रणमा लिएका हुन्।
धनुषाका साह परिवारले ४७ वर्षपछि एक प्राथमिक विद्यालयलाई दोस्रो पटक जग्गा दान गरेका छन्। २०३२ सालमा सोही परिवारले उपलब्ध गराएको जग्गामा स्थापना भएको उक्त विद्यालयलाई माध्यमिक १२ कक्षासम्म बनाउन ४७ वर्षपछि साह परिवारले पुनः जग्गा दान गरेका हुन्।
चालू आर्थिक वर्षको छ महिना (साउन–पुस)मा आयात–निर्यात दुवै घटेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको पहिलो छ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा २० दशमलव ६८ प्रतिशतले कमी आई सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख ८९ हजार रुपियाँको आयात भएको छ। गत वर्ष सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख आठ हजार रुपियाँको आयात भएको थियो।
झापामा काँचो सुपारी सङ्कलन र प्रशोधन बन्द भएको छ। यस कार्यमा संलग्न व्यवसायी आफैँले प्रशोधन बन्द गरेका हुन्। यहाँ सङ्कलन र प्रशोधन भएको काँचो सुपारीमा कर छली भएको विषय सार्वजनिक भएपछि व्यवसायीको भेलाले तत्कालका लागि सुपारी सङ्कलन र प्रशोधनको काम बन्द गर्ने निर्णय गरेका हुन्।
संरक्षण तथा प्रचारप्रसारको अभावमा कोसीटप्पु वन्यजन्तु आरक्ष आन्तरिक तथा बाह्य पर्यटकका लागि गन्तव्य बन्न सकिरहेको छैन। सुनसरी, सप्तरी र उदयपुर जिल्लामा पर्ने र सबैतिरबाट अवलोकन गर्न सकिने आरक्षमा पर्यटन विकासका लागि सरकारी र निजी क्षेत्रबाट पहल नहुँदा आरक्ष ओझेलमा परेको हो। कोसीटप्पु अर्ना तथा चराको स्वर्गभूमि मानिन्छ।
स्वदेशी कफीको उत्पादन, उत्पादकत्व तथा जलवायु परिवर्तन अनुकूलनमा सुधार ल्याउन सकिने विज्ञले बताएका छन्। नेपाली कफीको जातीय आनुवंशिक अनुसन्धानमा गरिएको अध्ययन प्रतिवेदन सोमबार सार्वजनिक गर्दै विज्ञहरूले सो कुरामा जोड दिएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरिसहित पूर्वी नेपालका दुई जना वरिष्ठ चिकित्सकमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले प्रतिष्ठानका उपकुलपति डा. गिरी तथा विराट मेडिकल कलेजका सञ्चालकसमेत रहनुभएका वरिष्ठ चिकित्सक डा.ज्ञानेन्द्रमान सिंह कार्की विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेसका केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीको सोमबारको बैठकले राष्ट्रपति पदका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने र आफ्नो उम्मेदवारको पक्षमा सहमति जुटाउन पहल गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षामा सशस्त्र प्रहरी बलको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले राजनीतिक सङ्क्रमणमा सम्पन्न निर्वाचन निष्पक्ष रूपमा पूरा गर्न सशस्त्र प्रहरीले निर्वाह गरेको जिम्मेवारी महत्त्वपूर्ण रहेको बताउनुभयो ।
नेपाल वायुसेवा निगमका पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन नियम अवज्ञा गरेको आरोपमा एकै पटक पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेको पहिलो पटक हो।
प्रतिनिधि सभाको नियमावली संशोधन प्रक्रिया अघि बढाउन सभामुख देवराज घिमिरेले राजनीतिक परामर्श सुरु गर्नुभएको छ। सभामुख घिमिरेले नियमावली संशोधनको समिति गठन प्रक्रिया अघि बढाउन सोमबार प्रमुख राजनीतिक दलका प्रतिनिधिसँग परामर्श गर्नुभएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना निरीक्षण गर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताको टोलीसँग कुरा गर्दै उहाँले आफू छिट्टै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाको स्थलगत निरीक्षणमा निस्कने बताउनुभएको हो ।