• ९ जेठ २०८१, बुधबार

छ वडा कार्यालय भवन निर्माणाधीन

blog

रामेछाप समाचारदाता

रामेछाप, साउन ९ गते । रामेछापको मन्थली नगरपालिका–८ को वडा कार्यालय भवन निर्माण भइरहेको छ। पुरानो कच्ची भवन भत्काएर सोही स्थानमा सङ्घीय सरकारको लगानीमा पक्की भवन निर्माण भइरहेको हो। 

सङ्घीय सरकारको लगानीमा सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीमार्फत वडा कार्यालय भवन निर्माणको काम भइरहेको मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो। “सङ्घीय सरकारको करिब दुई करोड रुपियाँमा वडा कार्यालय भवन निर्माण भइरहेको छ, अहिले दोस्रो ढलान गर्ने तयारी हुँदै छ, असोज मसान्तसम्म भवन निर्माण पूरा गर्ने लक्ष्य छ,” उहाँले भन्नुभयो। 

वडा नं. ८ सहित अहिले मन्थली नगरपालिकाका छ वटा वडाको कार्यालय भवन निर्माणको काम भइरहेको छ। १४ वटा वडा रहेको मन्थली नगरपालिकाको अहिले वडा नं. १, ३, ७, ८, ११ र १३ को पक्की कार्यालय भवन निर्माणको काम भइरहेको हो। यी वडामा दुई दुई करोड रुपियाँको लागतमा पक्की भवन निर्माण भइरहेको मन्थली नगरपालिकाका पूर्वाधार विकास तथा अनुगमन शाखाका इन्जिनियर डिल्लीबहादुर अधिकारीले बताउनुभयो। “वडा नं. ८ को सघन सहरी तथा भवन निर्माण आयोजना, वडा नं. १ मा नगरको आफ्नै लगानी, वडा नं. ३, वडा नं. ७, वडा नं. ११ र वडा नं. १३ को वडा कार्यालय भवन मन्थली नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा निर्माण भइरहेको छ,” उहाँले भन्नुभयो।  

मन्थली नगरपालिकाका पाँचवटा वडा भवनविहीन अवस्थामा छन्। मन्थली नगरपालिकाको वडा नं. ४, ५, ६, ९ र १२ मा पक्की भवन निर्माण हुन बाँकी रहेको इन्जिनियर अधिकारीले बताउनुभयो। निर्माणाधीनसहित वडा नं. ३, ६, ११ र १३ को कार्यालयले भाडाको कोठाबाट सेवा प्रवाह गरिरहेका छन्। उहाँका अनुसार मन्थली नगरपालिकाको वडा नं. २, १० र १४ नम्बर वडामा पक्की कार्यालय भवन निर्माण भई सेवा प्रवाह भइसकेको छ।